तराई मधेश जागरण अभियान सुनसरीमा, प्रचण्डले बर्जुताल , देवानगञ्ज र घुस्कीमा स्थानीयसंग गरे भेटघाट
जयकृष्ण यादव । इनरुवा
इनरुवा , फागुन १५ गते । नेकपा माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको तराई मधेश जागरण अभियान विहीबार सुनसरी आईपुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको अभियान जिल्लामा बर्जु गाउँपालिकाको शुक्रबारेदेखी एतिहासिक बर्जुतालसम्मको भ्रमण सहित ताल अवलोकन गरेको छ । अभियानमा प्रचण्डले तालको अवस्थाको बारेमा जानकारी लिनुका साथै भ्रमण गर्नुभएको छ । प्रचण्डले बर्जुताल, देवानगञ्ज र हरिनगर गाउँपालिकाको घुस्कीमा स्थानीयसंग भेटघाट गर्नुभएको छ ।
यसैबीच विहीबार मध्यान हरिनगर गाउँपालिकाको घुस्कीमा मुस्लिम अगुवाहरुसंगको भेघटाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभयो ।


जनतासँग माओवादी केन्द्रको तराई मधेस जागरण अभियान अन्तर्गत आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहदै उहाँले मुस्लिमहरुको आफ्नो अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताउनुभयो ।
अहिले जनताले पाएको अधिकार बढी भएको ठूला भनौदा दलहरुलाई लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्नुहुदै प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्ने दावी गर्नुभयो । आफ्नो पार्टी जनताकै तागत लिएर अघि

बढ्ने बताउनुहुदै अभियानले दक्षिणी सिमावर्ती नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताउनुभयो ।
हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरूले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन र बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग राख्दै त्यसमा ध्यानदिन आग्रह गरेको स्थानीय दिल मोहमत मियाँले बताउनुभयो ।
सत्ता बाहिर आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि ’तराई मधेश जागरण अभियान’ सुरु गरेको चौथौ दिन सुनसरीको घुस्कीपछि गढी र इनरुवाको कार्यक्रम गरेको छ ।
उता गढीमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार भ्रष्टाचरीहरुको संरक्षणमा लागेको आरोप लगाउनुभयो । उहाँले संविधानले दिएको अधिकार खोस्ने सडयन्त्रमा लागेको र सुशासन तथा सदाचारको अपरहण गरि भ्रष्टाचारको संरक्षणमा लागेको दावी गर्नुभयो ।
त्यसैगरी इनरुवा नपरपालिकाको जल्पापुरमा नेकपा माओवादी केन्द्र इनरुवा नगर सम्मेलनको उद्घाटन गर्नुहुदै देशमा माओवादी बाहेकका दलहरुले जतनाको हितमा भन्दा पार्टी र पार्टीका कार्यकर्ता हितमा लिप्त भएको दावी गर्नुभयो । उहाँले देशको विकासका बाधन नै अहिलेको सत्ता दलहरु भएको आरोप लगाउनुभयो ।
त्यसैगरी बर्जु तालको कार्यक्रममा दाहालले पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको बर्जु तालबाट नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष दाहालसहित बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेतृ पम्फा भुसाल लगायतका दर्जन बढी शिर्ष नेताहरुको उपस्थिति थियो ।
प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गरेको पार्टीका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बताउनुभयो ।
अभियानका क्रममा नेताहरूले दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने कार्य गरिरहेको बताउनुभयो ।
नेपालकै होचो भूभाग केचनकबलमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेपाली झण्डा फहराउँदै सोमबार अभियानको उद्घाटन गर्नुभएको थियो ।
