जयकृष्ण यादव । इनरुवा
इनरुवा , फागुन २२ गते । सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध गाजाँ बरामद गर्ने क्रम जारी रहेको छ । विहीबार विहान मात्रै गाजाँ तस्कारलाई प्रहरीले गोली प्रहार गरेर लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको धरान उप–महानगरपालिका वडा नम्बर २० चिमफुले खोलाबाट प्रहरीले लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको हो । सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार धरानमा लागू औषध (गाँजा) ओसार–पोसार भईरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ आउने जंगलको भित्री पैदल बाटो हुँदै भरियाहरु आउदै गरेको अवस्थामा गाजाँ बरामद गरेको हो । पैदल यात्रा गर्ने भरियाहरु उपर शंका लागेर प्रहरीले रोकी चेकजाँच गर्न खोज्दाँ बोकेको भारीहरु प्रहरी टोली देख्नसाथ जंगलतर्फ भागेकाले नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको खतिवडाले जानकारी दिनुभयो । गाजाँ तस्करहरु तथा भरियाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले टीवाईपीई ५४ पेस्तोलबाट ३ राउण्ड हवाई फायर गरी धनकुटाको साँगुरीगढी नगरपालिका वडा नं. ९ का ४३ वर्षीय हरि कुमार राईलाई पक्राउ प्रहरीले जनाएको छ ।
राईलाई नियन्त्रणमा लिई छाडिएको बोरा खोली चेकजाँच गर्दा नौ वटा बोरामा प्लास्टिक सहित २३० के.जी. र प्लास्टिक बाहेक २२५ के.जी. लागु औषध गाँजा फेला परेको सुनसरी प्रहरीले जनाएको छ । लागु औषध गाँजा सहित पक्राउ परेका राईलार्ई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको छ भने अन्य फरार भएका भरियाहरुको खोजतलास कार्य भईरहेको खतिवडाले जानकारी दिनुभयो ।


१, गाजाँ सहित पक्राउ परेका धनकुटाको साँगुरीगढी नगरपालिका वडा नं. ९ का ४३ वर्षीय हरि कुमार राईलाई प्रहरीले सार्वजनिक गर्दै ।