सुनसरीकाे इनरुवा नगरपालिकामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयकाे आयोजनामा शिक्षा तालिम केन्द्र इनरुवामा भएकाे वृत्ति परामर्श तथा रोजगार मेलामा सुनसरीका विभिन्न शैक्षिक संस्थाका एक हजार बढीलाई परामर्श दिएको हो ।

बुधबार सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र सुनसरीले विद्यार्थी/युवाहरूको लागि वृत्ति परामर्श, सीपमुलक तालिमको अवसर, रोजगारी र उच्च शिक्षा सम्बन्धि परामर्श सेवा प्रदान गर्ने उदेश्यले वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न गरेको तालिम केन्द्रका साेममणी काेईरालाले जानकारी दिनुभयो ।

मेलाको उद्घाटन गर्नुहुदै सामाजिक विकास मन्त्री पाँचकर्ण राईले युवालाई राेजगार, उधम र शिपकाे बारेमा जानकारी दिन मेला आयोजना गरेकोले सबैलाई लाभ लिन आग्रह गर्नुभयो ।

उहाँले मेलामा उपस्थित भएको सम्पूर्ण विद्यार्थी/युवा तथा सरोकारवालाहरूलाई शिक्षाको संसार र कामको संसार बारेमा जानकारी लिन, रुचि, खुबी र क्षमता अनुसारको वृत्ति परामर्श सेवा लिन जरुरी रहेको बताउनुभयो ।

उहाँले मेलामा विभिन्न पेशागत विज्ञहरूवाट प्रेरणात्मक सत्र , विभिन्न तालिम प्रदायक संस्थाहरुसँग प्रत्यक्ष भेट, आफुले रोजेको र लिन चाहने सीपमुलक तालिम सम्बन्धि जानकारी, रोजगारी सम्बन्धि जानकारी तथा सूचना, सम्भावित रोजगारदातासंग प्रत्यक्ष भेट गराउने तथा सीप र योग्यता अनुसारको रोजगारीको सम्भावनाका बारेमा जानकारी दिन मेला प्रभावकारी भएको बताउनुभयो ।

उहाँका अनुसार युवाको सपनाको वृत्तिलाई साकार पार्ने वास्तविक समय भएकोले त्यसको उपयोग गर्न समेत आग्रह गर्नुभयो । शिक्षा तालिम केन्द्र इनरुवामा भएको मेलामा २१ वटा सेवाप्रदायककाे स्टल रहेको थियो ।

विधार्थीलाई सुचना र जानकारी तथा बेरोजगार युवायुवतीलाई आवश्यक सीप र तालिमको अवसर दिँदै रोजगार बनाउने ‘प्लेटफर्म’ को रुपमा आयोजित मेला हजार बढीको सहभागीता रहेको थियो ।