सुनसरी
२०८१ चैत ३ गते । इलाका प्रहरी कार्यालय भाण्टाबारी प्रहरीले चैत १ गते हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँदै कोशी गाउँपालिका –८ का २३ वर्षीय कृष्णराजा यादवले आफूमाथि शारिरिक तथा मानसिक यातना दिएको आरोप लगाउनुहुदै अधिकारकर्मीलाई न्यायका लागि गुहार माग्नुभएको छ ।


इलाका प्रहरी कार्यालय भाण्टाबारीका सई नरेश कटुवाल र अर्का एक प्रहरी जवानले सडकमा भईरहेको झग्डामा किन आएको भन्दै नियन्त्रणमा लिएर यातना दिएको यादवले गुनासो गर्नुभयो ।
यादवले यातनाका कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्याङ्कन र विचार गरी यातनासम्बन्धी क्षतिपूर्ति ऐन २०५३ को दफा ३ बमोजिम क्षतिपूर्ति माग गर्दै अदालतमा उजुरी गर्ने जानकारी दिनुभएको छ । साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारबाहीको माग गर्नुभएको छ । यादवलाई होलीको दिन चैत १ गते राती कोशी हेल्थ कियर अस्पातलमा भएको विवादको बारेमा हेर्न गएको बेला किन आएको भन्दै हिरासतमा लिने क्रममा गालीगलौज सहित शारिरिक तथा मानसिक यातना दिएको गुनासो आएको हो । पीडित यादवले बुटले छाती, पिठ्यु र शरिरमा कुट्दा शरिरमा निलडाम, छाती, ढाड र गोडामा चोट लागेको बताउनुभयो ।
पीडितले चैत ३ गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरमा निष्पक्ष छानबिन गरी दोषी माथि कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ । इमेलमा राष्ट्रिय मानव अधिकार आयोग विराटनगरमा उजुरी दिनुभएको छ ।
त्यसैगरी यादवले आफ्नो मानव अधिकार हनन भएको भन्दै इन्सेकमा न्यायको लागि पहल गरिदिन अनुरोध सहित निवेदन दिनुभएको छ । पीडित यादवले दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने समेत चेतावनी दिनुभएको छ ।
यसैबीच इलाका प्रहरी कार्यालय भाण्टाबारीका सई नरेश कटुवालले भने आफूले कुनै यातना नदिएको दावी गर्नुभयो । आफूले झै झग्डा नहोस भनेर सुरक्षित पार्ने उदेश्यले नियन्त्रणमा लिएको तर यातना नदिएको प्रतिकृया दिनुभयो ।
जयकृष्ण यादव । इन्सेक