जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत ११ गते । सुनसरीका विभिन्न शिक्षक संघ, संगठन तथा नेपाल शिक्षक महासंघले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै शिक्षा, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावकमैत्री अग्रगामी शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेको छ ।


महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर गत माघ २० गतेदेखि सुरु भएको आन्दोलनको जिल्ला सदरमुकाम इनरुवाको भगवती माविमा समीक्षा गर्दै आगामी संघर्षका रणनीति तय गर्ने नेपाल शिक्षक संघ सुनसरी अध्यक्ष बेनु सिग्देलले जानकारी दिनुभयो ।


नेपाल शिक्षक संघ सहित महासंघमा आबद्ध÷सम्बद्ध सबै घटकका प्रतिनिधिहरू उपस्थितीमा जारी भेलामा शिक्षा ऐन जारी गरेर सबैको माग सम्बोधन गर्नुपर्ने माग जोडदारका साथ उठाएको शिक्षक देवकृष्ण यादवले जानकारी दिनुभयो । शिक्षक संगठनका सचिव रामानन्द मण्डलका अनुसार शिक्षा ऐनका लागि सुरु भएको आन्दोल दोस्रो चरणमा पुगेको छ । यसअन्तर्गत विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिने कार्यक्रम लगभग समाप्त भएकोले अब महासंघले आन्दोलनलाई नयाँ चरणमा लाने तयारी गरिरहेको मण्डलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको संघर्षको स्वरूप रिले अनशन हुनेछ । महासंघले लामो समयदेखि शिक्षक, कर्मचारी लगायतका मागहरू सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर, सरकारी पक्षले ठोस निर्णय नगरेको भन्दै महासंघका नेताहरू आक्रोशित बनेको छन् । महासंघका अनुसार, शिक्षा ऐनले शिक्षकहरूको पेसागत सुरक्षासँगै, उनीहरूको सेवासुविधा सुनिश्चित गर्नुपर्छ तर, हालसम्म सरकार गम्भीर रूपमा प्रस्तुत नभएकाले संघर्षको स्वरूप अझै कडा बनाउनुपर्ने आवाज उठिरहेको छ ।
बैठकमा उपस्थित महासंघका विभिन्न घटक प्रतिनिधिहरूले आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरूले सरकारलाई दबाब दिनका लागि शिक्षकहरूबीच अझ बलियो एकता आवश्यक रहेको बताएका छन् ।


१, सुनसरीको इनरुवामा विभिन्न शिक्षक संघ, संगठन तथा नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बसेको भेलाका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा