दूध डेरीमा पाँच जनालाई प्रत्यक्ष रोजगार

जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ५ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ मधेसामा दूध डेरी सञ्चालनमा आएपछि सयौं किसानलाई सहज भएको छ । सदरमुकाम समेत रहेको इनरुवा ६ मधेसा मुख्य चौकमा प्रस्तावित मधेसा दूध डेरी स्थापना भएपछि किसानलाई राहत भएको हो । गाउँमा गाई र भैंसी पलन गर्ने किसानलाई दूध बेच्न समस्या रहेकोमा डेरी सञ्चालन भएपछि राम्रो आम्दानी गर्न थालेको स्थानीय कृष्ण श्रेष्ठले बताउनुभयो । साविक मधेसा गाविसमा दशक अघिसम्म डेरी नभएकोमा दक्षिण इनरुवा र उत्तरतर्फ झुम्का ६÷७ किलोमिटर टाढाको बजारमा गएर दूध बिक्री गर्दै आएका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि गाई तथा भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय एक किसानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यति टाढा गाईभैँसीको दूध कसरी बिक्री गर्न जानु ? खान सक्नेजति खान्थ्यौं, बाँकी रहेको दूध गाउँघरमा बिक्री भए भयो, नभए खेर जान्थ्यो तर अहिले ५÷१० लिटर दूध बिहानै डेरीमा बेचेर दिनको छ सय देखि नौ सय रुपियाँको दरले आम्दानी हुन थालेको छ ।” उहाँ जस्तै इनरुवा नगरपालिका ६ र ३ का अरू किसान पनि गाईभैँसी पालेर प्रतिमहिना तीन हजार पाँच सयदेखि २० हजार रुपियाँसम्म आम्दानी गर्न थालेको डेरीका सञ्चालक दिनेश कोईरालाले जानकारी दिनुभयो ।

कोइरालाका अनुसार नियमित पशुपालन गर्ने र केही गरिबलाई दातृ संस्थाले बाछी तथा गाई सहयोग गरेकोमा ती गाईको दूध समेत संकलन गर्ने गरेको छ । केहीले डेरीमा र केहीको घरबाटै दूध संकलन हुन थालेपछि यस भेगका किसान अहिले गाई र भैँसीपालनमा निकै हौसिएका छन् । डेरीले दैनिक एक सय बढि किसानको ६÷७ सय लिटर दूध संकलन गर्ने भएपछि यसले दलित समुदायको पनि आर्थिक अवस्थामा सुधार ल्याएको स्थानीय रुपेश मोचीले बताउनुभयो । संचालक कोइरालाले २० लाख रुपियाँ लगानीमा सुरु गर्नुभएको दूध डेरीमा पाँच जनाले प्रत्यक्ष रोजगार पाउनुभएको छ भने एक हजार सेवाग्राहीलाई लाभ मिलेको छ । सञ्चालक कोईरालाले दिनुभएको जानकारी अनुसार डेरीबाट उत्पादित दूध, दही, पनिर, खुवा र घिउ स्थानीय बजारमा विक्रि भइरहेको छ । केही मात्रै बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यका साथ यस डेरीको विकास भइरहेकाले इनरुवा ६ का वडा अध्यक्ष सुमन थापाले बताउनुभयो । उहाँले वडा तथा नगरपालिकाबाट समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा सदस्य कृष्ण श्रेष्ठले समेत नियमित पशुपालन गर्ने र दुध उत्पादन गर्ने किसानलाई दुध डेरीले धेरै सहज भएको बताउनुभयो ।

१, सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ मधेसा दूध डेरीका सञ्चालक दिनेश कोईराला ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा