इनरुवा, जेठ ३ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३९ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सुनसरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । गीत, कविता र लघुकथा बाचन सहित ३९ औं शृङ्खला सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका, ललितपुर र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।


कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २० बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार ऋषि तिवारी, शारदा प्रधांग, कुमारी श्रेष्ठ, टिका कुनल प्रधागं,कान्ता पोखरेल भट्टराई, राधा सुवेदी, शारदा दाहाल, श्रीप्रसाद पोखरेल, सुमन श्रेष्ठ, सत्यवीत, खखेरा, सितेस दास, देवराज यादव लगायतले रचना बाचन गर्नुभयो ।


त्यस्तै, कार्यक्रममा रमेन्द्र कोईराला, जिवनाथ पोखरेल, पत्रकार जयकृष्ण यादव र सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।


इनरुवाको साहित्यमा पहिचान स्थापित गरेको र देशभर नै चिनाउनका लागि सिर्जनामा इनरुवाले योगदान गरेको संस्थाका अध्यक्ष लिलानाथ सिलवालले बताउनुभयो । उहाँले कोशी प्रदेशमा मात्रै नभई देशभरका र बेखाबखतमा सीमापारी साहत्यिकारहरुले समेत रचना वाचन गर्न आउने गरेको बताउनुभएको थियो ।