मनोज कुुमार राजवंशी । बिराटनगर

समाजमा प्रचलित भनाइ छ – “सानो उमेरका युवाले ठूला जिम्मेवारी पूरा गर्न सक्दैनन्।” तर यो भनाइलाई गलत सावित गर्दै मोरङ जिल्लाका युवा तेजस्वी मण्डल आज प्रेरणादायी उदाहरण बनेका छन्।

तेजस्वी मण्डलको जन्म र स्थायी बसोबास मोरङ जिल्ला, धनपाल गाउँपालिका–२, अमाही बैरातीमा भएको हो। आज उनी २४ वर्षको उमेरमै जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन (कटहरी–२, हल्दिवारीस्थित) का सी.इ.ओ. बनेर समाजलाई देखाइरहेका छन् – इच्छाशक्ति र लगनशीलता भए उमेरले कहिल्यै बाधा पुर्याउँदैन।

यो अस्पताल २०८२ साल जेठ २४ गते, सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूद्वारा भव्य रूपमा उद्घाटन गरिएको थियो। अरबौंको लगानीमा बनेको यो संस्थान स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरसहित हजारौं जनताको जीवनसँग प्रत्यक्ष जोडिएको छ।

तेजस्वी मण्डल बाल्यकालदेखि नै निडर, जिम्मेवार र कर्मप्रति समर्पित थिए। उनी जीवनयात्रामा सधैं समाजका लागि केही गर्न सकिन्छ भन्ने विश्वास बोकेर अघि बढे। यस यात्राको मूल प्रेरणा उनका पिता, अस्पतालका अध्यक्ष एवम् मोरङ क्षेत्र नं–५ का सांसद योगेन्द्र मण्डल (जोगी) हुन्। जसले जीवन विकास समाज स्थापना गरेर मधेसी, आदिवासी र जनजाति समुदायलाई “केही गर्न सक्दैनन्” भन्ने धारणालाई चिर्दै हजारौंलाई आत्मनिर्भर बनाउन सफल भएका थिए।

पिता जस्तै समाजका लागि समर्पित तेजस्वी मण्डल आज अस्पतालको सम्पूर्ण व्यवस्थापन कुशलतापूर्वक सम्हाल्दै छन्। कर्मचारीदेखि सरोकारवालासम्म सबैलाई संगठित गर्दै, बिना विभेद, इमान्दारीपूर्वक काम गर्नुपर्ने मान्यता बोकेर अघि बढ्नु उनको विशेषता हो।

हाल उनी बिजनेस विषयमा स्नातक अध्ययनरत छन्। अध्ययनसँगै यत्रो ठुलो जिम्मेवारी सम्हाल्नु आफैंमा असाधारण कुरा हो। यसले युवाहरूलाई शिक्षा र व्यावहारिक जीवन दुबैलाई सन्तुलन गर्दै अघि बढ्न सकिन्छ भन्ने प्रेरणा दिएको छ।

उनको मौन स्वभावमा गहिरो सन्देश लुकेको छ – “जिम्मेवारी ठूलो वा सानो हुँदैन, इच्छाशक्ति दृढ भए हरेक चुनौती पार गर्न सकिन्छ।”

त्यसैले हामीमध्ये कोही कसैले “सानो उमेर छ, केही गर्न सक्दैनौं” भनेर हात बाँधेर बस्नु हुँदैन। बरु कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सोच राखी निरन्तर मेहनत गर्न सके, एकदिन अवश्य सफल बन्न सकिन्छ।

👉 तेजस्वी मण्डलको यात्रा हरेक युवाका लागि प्रेरणा हो – सपना देख, मेहनत गर, शिक्षा र कर्मलाई जोड, अनि समाजलाई केही दिन सकिन्छ भन्ने प्रमाणित गर्नुपर्छ ।

लेखक – मनोज कुमार राजबंशी ।