जयकृष्ण यादव । इनरुवा

इनरुवा, कात्तिक ६ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता अन्तरगत दोस्रो दिनको ७ वटा कुस्ती सम्पन्न भएको छ । कालीथान मन्दिर मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको दोस्रो दिनको कुस्ती प्रतियोगितामा भारतीय खेलाडीको बर्चस्व रहयो।  नेपाल र भारतका विभिन्न राज्यको कुस्ती खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा ५० केजीदेखी १२० केजीसम्म तौल उमेर समूहका मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादव सहितको कुस्ती सम्पन्न भएको छ।
कुस्तीमा खेलाडी सतिशकुमार यादव, लक्की थापा, भरतकुमार, बाबा लाडी, ओमकार पहलमान, समसेर पहलमान, बिक्की पहलमान, रामु पहलमान, सोनु पहलमान, रिजवान गणी, मोहित पहलमान, कल्कु पहलमान, भेसा पहलमानसहित २१ जोडीमा ४२ खलिफाहरु मध्ये दोस्रो दिनको खेलमा सात जोडीमा १४ जनाले कुस्ती खेल्नुभएको छ । 
प्रतियोगितामा भारतको राजधानी नयाँ दिल्लीसहित बनारस, जम्मुकस्मिर, विहार, लखनौ, राजस्थान, पञ्जाबसहितका राज्यका र नेपालको बारा, पर्सा, सुनसरी र सप्तरीका खलिफाहरुले कुस्ती प्रदर्शन गर्नुभएको थियो ।
भोक्राहा नरसिंह गाउँपालिकाकाे पुर्व अध्यक्ष महेन्द्र प्रसाद यादवले मधेसको मौलिक पहिचानसँग र संस्कृतिसँग जोडिएको कुस्तीमा खेलाडी र दर्शक दुवै रमाएको बताउनु भयो। तराइ मधेसमा लोपोन्मुख अवस्थामा पुगेको कुस्ती खेलको संरक्षण गर्न नरसिंहमा प्रत्येक वर्ष गर्दै आएको प्रतियोगिता आयोजना गरिएकोमा यादवले खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजाद, भोक्राहा नरसिंह गाउँपालिका २ का वडा अध्यक्ष आलम अन्सारी, ४ का वडा अध्यक्ष हारुन अन्सारी, ६ का वडा अध्यक्ष सेराजुद्धिन अन्सारी र ७ का वडा अध्यक्ष बौवालाल यादव लगायतका जनप्रतिनिधि र स्थानीय नेताहरुको उपस्थिति  थियो ।

 कार्यक्रममा नेपाल र भारतका नाम चलेका खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार वितरण गरेको आयोजक समितिका अध्यक्ष सचेन्द्र यादवले जानकारी दिनुभयो । तीन दिन सम्म चल्ने मेलाको दोस्रो दिनसम्ममा ६० हजारभन्दा बढी दर्शकले कुस्ती खेल अवलोकन गरेको आयोजक समितिका अध्यक्ष यादवले बताउनुभयो ।

१, सुनसरीको भोक्राहा नर्सिङ मन्दिरको कुस्तीमा खेलाडी प्रतिस्पर्धा गर्दै। 

तस्बिर :जयकृष्ण यादव। इनरुवा