सासूलाई खुकुरी प्रहार गरेपछि ज्वाईंद्वारा आत्महत्या
सुनसरी — भोजपुरबाट धरान ससुराली आएको दुईदिन नबित्दै धरान– ८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैं घाँटी रेटेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि रम्तेलले ७१ वर्षीया सासू नरमाया भुजेललाई बिहीबार राति खुकुरी प्रहारी गरी गम्भीर घाइते बनाएका थिए । धरान–८ का वडाध्यक्ष धनबहादुर राईकाअनुसार विवाद र आत्महत्याको विस्तृत विवरण प्रहरीले अनुसन्धान गरिरहेको छ । ज्वाईं रामबहादुरलेटाउकोमा खुकुरी प्रहार गरेपछि घाइते भएकी नरमायालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले पनि उपचार गर्न नसकेपछि विराटनगरको एक अस्पतालमा रिफर गरेको वडाध्यक्ष राईले बताए । यता घाँटी रेटेका रामबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।मृतक रामबहदुरको घर भोजपुरको पौवादुम्बा गाउँपालिका–५ सानोदुम्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुरको श्रीमती करिब डेढ महिनाअघि दुबईमा वैदेशिक रोजगारमा गएकी छन् । मृतक रामबहादुर दुई दिनअघि भोजपुरबाट धरान आएर धरान– १३ स्थित भाडामा बसेका जेठा छोरासँग भेटघाट गरेर ससुराली आएका थिए ।ससुराली आएको बेला सासूसँग वैदेशिक रोजगारमा गएकी श्रीमतीसँग केही समयदेखि खटपट भइरहेको विषयमा सामान्य कुराकानी हुँदाहुँदै वृद्ध सासूलाई एक्कासि खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
