इनरुवा, पुस १६ गते । नेपाल भारत सीमावर्ती हरिनगर गाउँपालिका ५ बसन्तपुरमा भुटाहा–बसमतिया रोडको दक्षिण स्वास्थ्य संस्थासम्म जोड्ने बाटोमा कालोपत्रे सडक निर्माण हुदैछ । बसन्तपुर सुनसरी खोला पारी सामुदायिक स्वास्थ्य इकाईदेखि बंगालीटोल हुँदै भुटाहा–बसमतिया खण्डको सडकमा जोड्ने गरि कालोपत्रे सडक निर्माण कार्य सुरु गर्न लागेको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीका अनुसार एक हजार २०० मिटर लम्बाइको उक्त सडक निर्माणका लागि भ्याटसहित ३ करोड ३८ लाख ३० हजार रुपियाँको लागतमा ठेक्का सम्झौता भएको हो । निर्माण कार्यको जिम्मा अबदुल्लाह÷दिनेश जेभी निर्माण सेवाले लिएको अंसारीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष अंसारीले वडा अध्यक्ष सिकमलाल यादव, प्रमुख प्रशासकिय अधिकृत रोहणी आचार्यको उपस्थितीमा सम्झौता हस्तान्तरण गरेसगैं काम सुरु भएको सडक निर्माण कार्य सम्झौता अनुसार १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त सडक निर्माणपछि स्थानीय बासिन्दालाई आवागमनमा सहजता हुने तथा सेवा प्रवाह र व्यापारिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको उपाध्यक्ष रिमझिम कुमारी भगतले जानकारी दिनुभयो । गाउँपालिकाले गुणस्तरीय सहित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सम्झौताको क्रममा निर्देशन दिएको जनाएको छ ।