धरान : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-१ मा टुरिस्ट (आगन्तुक) उम्मेद्वार हाबी भएका छन्। स्थानीय निर्वाचनमा स्वतन्त्रले जितेको धरानमा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले आगन्तुक उम्मेदवारलाई अगाडि सारेका छन्।

annapurna post

प्रमुख राजनीतिक दल एमालेको तर्फबाट यस क्षेत्रमा स्थायी समिति सदस्य तथा प्रदेश १ का पूर्व मूख्यमन्त्री भीम आचार्यले चुनाव लड्ने बताएका छन्। उनले पार्टीले सुनसरी क्षेत्र नम्बर १ नदिए क्षेत्र नम्बर २ बाट अर्को विकल्प हुनसक्ने बताए।

त्यस्तै जनता समाजवादीका संघीय परिषद् अध्यक्ष अशोक राई पनि सुनसरी क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने भएका छन्। उनी सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनवा लड्ने तयारीमा रहेको जसपा धरानका अध्यक्ष ताजुव लिम्बुले बताए।

राई २०४९ र २०५१ सालमा खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०५६, २०६४ मा उदयपुरबाट चुनाव लडेर जित्न नसकेपछि २०७४ पश्चात् राई सुनसरी १ मा सरेका छन्। २०७४ मा कांग्रेसको समर्थनमा चुनाव लडेका उनी एमालेका जयकुमार राईसँग २० हजार मतान्तरले पराजित भएका थिए।

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्दीय सचिव राजेन्द्र कुमार राईलाई पनि पार्टीले सुनसरी क्षेत्र नम्बर- १ बाट उम्मेदवार बनाउने भएको छ। नेकपा एसले सुनसरी क्षेत्र नम्बर १ बाट भोजपुर घर भएका मुख्यमन्त्री राजेन्द्र र संखुवासभा घर भएका केन्द्रीय सदस्य जीवन राईको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ। जीवनले भने आफ्नो मतदाता नामावली धरान ४ मा रहेकाले टुरिस्ट उम्मेदवार भन्न नमिल्ने दाबी गरेका छन्।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले भने सुनसरी क्षेत्र नम्बर-१ बाट मीन विश्वकर्मा र पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बालाई अगाडि सार्ने भएको छ। विकले गठबन्धनको तर्फबाट आफू सुनसरी-१ मा चुनाव लड्ने तयारी गरेको बताए।

प्रमुख प्रतिपक्षी दल एमालेको एउटा समूह जयकुमार राईलाई पुनः चुनाव लडाउने पक्षमा लागेको छ। यस क्षेत्रबाट आचार्यलाई टिकट दिँदा चुनाव हार्ने डरले नेता शेरधन राईलगायतले जयकुमार राईलाई उम्मेदवार बनाउने बुझिएको छ। जयकुमारले पनि आफू पुनः सुनसरी-१ बाट चुानव लड्ने पूर्ण तयारीमा रहेको बताए।

यता आगन्तुक उम्मेदवारको पक्षमा जनता समाजवादी पार्टीमात्र सन्तुष्ट देखिन्छ। अशोक राईजस्तो राष्ट्रिय पहुँच भएको व्यक्तिलाई गठबन्धन दलहरुले समर्थन गरेर चुनावी मैदानमा उत्रनुपर्ने जसपा धरानका अध्यक्ष ताजुव लिम्बुको भनाइ छ। कांग्रेसले भने अशोक राईलाई चुनाव उठाउँदा जित्न कठिन हुने भएकाले एमालेसँग कडा प्रतिस्पर्धा हुने नेता विश्वकर्माको भनाइ छ।

एमालेले भीम आचार्यलाई उठाए संस्थापन पक्षका कार्यकर्ताहरु नै रुष्ट देखिएका छन्। एमालेका स्थायी समिति सदस्य शेरधन राईले पनि सुनसरी-१ मा निर्वाचन जित्ने र निर्विवाद भएको व्यक्तिलाई टिकट दिने तयारी गरेको बताए।