सुनसरीमा दुई वटा अस्थायी मतदान केन्द्र
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा दुई ओटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो । जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार कैदीबन्दीहरुका लागि रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पौडेलले बताउनुभयो ।
जिल्लामा दुई हजार बढी अस्थायी मतदाताको तथ्याङ्क रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको खटनपटन भएपछि उनीहरुको अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत हुने भएकोले संख्या थपघट हुन सक्ने पौडेलले बताउनुभयो । निर्वाचनमा रहेको प्रदेश स्तरकै झुम्का कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शत प्रतिशत हुन सक्ने र कृषि केन्द्रमा भने थोरै मात्र उपस्थिति हुन सक्ने अनुमान गरेका छन् । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ ।
अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदातालाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उता कोशी प्रदेशमा जिल्लागत आधारमा अस्थायी मतदान केन्द्र तोक्दा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २८ ओटा अस्थायी निर्वाचन क्षेत्र र अस्थायी मतदाता तोकिएको छ ।
