इनरुवा , भदौ १ गते । सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट सोमबार विहान एक भारतीय युवक बेपत्ता भएका छन् । पानीमा बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ वर्षीय संजीव कुमार शर्मा रहेको बताइएको छ । कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भण्टाबारीले जनाएको छ । घटनालगत्तै सुनसरी र सप्तरीका सुरक्षाकर्मीले खोजी कार्य तीव्र बनाएका छन्। खोजीका लागि विपद् व्यवस्थापन सुरक्षा बेस भारदहबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर बिष्टको नेतृत्वमा टोली परिचालन गरिएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको नेतृत्वमा प्रहरी टोली, कोशी ब्यारेजबाट खटिएको प्रहरी टोली खोजी कार्य गरिरहेको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म हरिपुरबाट सशस्त्र प्रहरीको टोली समेत खोजी कार्यमा परिचालन गरिएको छ । बेपत्ता युवकको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पग्लीबाट सशस्त्र प्रहरी निरीक्षक तेजकुमार मगरको कमाण्डमा ११ जनाको गोताखोर टोली समेत परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूले कोशी नदी तथा ब्यारेज आसपासका क्षेत्रमा खोजी गरिरहेका छन् । युवक कसरी नदीमा बेपत्ता भए भन्ने विषयमा भने प्रहरीले अनुसन्धान अघि बढाएको छ । बेपत्ता युवकको अवस्था र खोजी कार्यबारे थप विवरण आउन बाँकी रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय पत्रकार देवराज यादवले जानकारी दिनुभएको छ । यो समाचार तयार पार्दासम्म बेपता फेला परेको छैन् ।