इनरुवा, भदौ ४ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा सञ्चालित भनिएको दारुल उलुम अल्सफा मदरसा कुनै पनि निकायमा दर्ता नभएको पाइएको छ । अवैध रुपमा सञ्चालनमा रहेको दशकदेखी आबाज उठाउदाँ समेत कार्वाही नभएकोमा गत साउनमा मदरसासगैं टासिएको बस्तीमा भएको झडप र त्यसपछि प्रहरीले गोली चलाउदाँ तीन जनाको मृत्यु र कयौं घाईते भएको घटनापछि अनुगमन गर्दा मदरसा अवैध रहेको पाइएको हो । देवानगञ्ज गाउँपालिका ३ मा दश वर्षअघिदेखी सञ्चालनमा रहेको दारुल उलुम अल्सफा मदरसाका बारेमा गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई, कम्पनी रजिस्टार कार्यालय र जिल्ला प्रशासन कार्यालय समेत बेखबर रहेको स्थानीय कुन्दन मेहताले बताउनुभयो । मेहताले मदरसा कुनै पनि निकायमा दर्ता नभएको र शैक्षिक संस्थाको नाममा होसटलका नाममा नेपाल बाहिर विदेशी विधार्थी समेतलाई राखेकोले शंका उत्पन्न भएको गुनासो गर्नुभयो । यता जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत मदरसा नर्दा नभएको पुष्टी गरेको छ । मदरसा छानविनका लागि अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीको टोली पुग्दा शैक्षिक संस्था चलाउने गरी अनुमती वा सम्बन्धीत निकायमा दर्ता नगरेको पाइएको छ ।


मदरसाको वास्तविक अवस्था, सञ्चालन प्रक्रिया र वस्तुस्थितिको अध्ययन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी राममणी निरौलाको संयोजकत्वमा गठित टोलीले उक्त मदरसाको प्रत्यक्ष स्थलगत अनुगमन सम्पन्न गरेको छ ।
अनुमगनका क्रममा मागिएको विवरणमा दर्ता सम्बन्धी सन्तोशजनक जवाफ नपाएको र दर्ता प्रकृयामा रहेको मात्रै प्रतिकृया मदरसा सञ्चालकबाट आएको निरौलाले जानकारी दिनुभयो । प्रशासनले देवानगञ्ज गाउँपालिकालाई मदरसा दर्ता भएको वा नभएको बारेमा विवरण मागेकोमा साउन २८ गते जिल्ला प्रशासन कार्यालयमा पत्रमार्फत उक्त मदरसा गाउँपालिका तथा वडा कार्यालयमा दर्ता नरहेको व्यहोरा औपचारिक रूपमा जानकारी गराएको बताइएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत भदौ २ गते मात्रै अल्सफा मदरसालाई तीन दिनभित्र दर्ता वा कुनै सरकारी निकायमा दर्ता भएको, लेखापरिक्षण गरेको प्रमाणित विवरण तथा कागजातहरू पेश गर्न पत्राचार गरी निर्देशन दिएको अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो ।


गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय तथा अनुगमन टोलीसँग पूर्ण समन्वय गर्दै मदरसासँग आवश्यक प्रमाणिक कागजातहरू माग गरी प्रक्रियालाई पूर्ण पारदर्शिता र कानुन बमोजिम अगाडि बढाएको मेहताले जानकारी दिनुभयो । मेहताले देवानगञ्ज गाउँपालिका अन्तरगत ३ वटा धार्मिक विद्यालय दर्ता रहेको जानकारी दिनुहुदै उस्मानिमया आइडेल पब्लिक स्कुल, देवानगञ्ज वडा नं.१, मदरसा इस्लामिया, देवानगञ्ज वडा नं. २ र श्री पशुपति शिक्षा मन्दिर,देवानगञ्ज वडा नं ७ बाहेक कुनैपनि मदरसा दर्ता रहेको बताउनुभयो ।


१, अल्सफा मदरसा अनुमगन गर्दै टोली ।


तस्विर ः