टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु
लीलाराज खड्का
बिर्तामोड, साउन ३० गते । झापाको झापा गाउँपालिका –४ मा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । झापा गाउँपालिका –४ चौधरी टोल निवासी ६० वर्षीय इसकलाल गणेशको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
शनिवार वेलुकी ५ः२० बजेको समयमा झापा गाउँपालिका ४ वडा कार्यालयनजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख ६४९० नम्बरको टिपरले सोही दिशातर्फ साइकलमा घर जाँदै गरेका गणेशलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । अस्पताल लगेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
साइकलयात्रीलाई ठक्कर दिएपछि टिपर चालक फरार भएका छन् । आक्रोशित स्थानीयवासीले टिपर तोडफोड गरेका छन् । स्थानीयका अनुसार उक्त टिपर झापा गाउँपालिका –२ निवासी उत्तम दासको हो । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
