नेकपा उम्मेदबार रामकुमारी चौधरीप्रति मतदाता आकर्षित
फागुन १५ गते, इनरुवा । सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ की नेपाली कम्युनिष्ट पार्टी(नेकपा) उम्मेद्वार रामकुमारी चौधरीले घरदैलोलाई तिब्र पार्नुभएको छ ।

चौधरीको विगतमा जनयुद्धको बेला केही मोर्चाको कमाण्ड समालेदेखी संसद र राज्यमन्त्रीसम्मको यात्रामा देश र जनताको पक्षमा गर्नुभएको योगदान तथा कामको चर्चासगैं उहाँको शालिन अभिव्यक्ती, प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाताको रोजाईमा गर्नुभएको छ । चौधरीप्रतिको आकर्षण बढेकाले घरदैलोलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनुभएको छ ।

उम्मेदबार चौधरीले आफूले विगतमा गरेको कामबाटै परिचि भएकोले र भ्रष्टाचारमुक्त तथा शुसासनका लागि लडने प्रतिबद्धता जनाउनुभएकाले मतदाताको मन जित्दै अगाडि बढ्नुभएको छ ।

नेकपा उम्मेद्वार चौधरीले समानुपातिकबाट संसद भएपछि गरेको कामको समिक्षा गर्दै फेरी पनि कानुन निर्माण देखी विकासका लागि मतदान गर्न आग्रह गर्दै घरदैलोमा व्यस्त भएको बताइएको छ । उहाँले इटहरीमा आफ्नो घरदैलौलाई तिब्र पानुभएको पार्टीका नेता रमेश भट्टराईले जानकारी दिनुभयो ।

एता सुनसरी निर्वाचन क्षेत्र नं. ४ का एमालेका उम्मेदबार जगदीश प्रसाद कुशियैतले पनि आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम तीव्र रूपमा अगाडि बढाउनुभको छ । घरदैलो अभियान अन्तर्गत सुनसरीका विभिन्न वडा ताथा बस्तीहरूमा पुगेका उम्मेदवार कुशियैतलाई स्थानीयवासीले स्वागत गर्दै आफ्ना समस्या, आवश्यकता र विकाससम्बन्धी सुझाव राखिरहेका छन् । घरदैलो कार्यक्रममा किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको र मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर चुनावमा हामिएको बताउनुभएको छ । एमाले कार्यकर्ताहरूका अनुसार अभियानमा दिनप्रतिदिन एमालेप्रति जनलहर बढ्दै गएको छ । मतदाताको आक्रर्षणले निर्वाचनमा सकारात्मक परिणाम आउने कुसियैतको दावी रहेको छ । चुनाव नजिकिँदै जाँदा गाउँ–बस्तीमा बाजागाजा, झन्डा र मोटरसाइकलको हर्नको आवाज बढ्दै गएको छ । तर सुनसरी क्षेत्र नम्बर २ मा भने एउटा फरक दृश्य देखिन थालेको छ—होहल्ला होइन, लावालस्कर होइन, न त भाषणको भीड । प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार तथा पत्रकार इकवाल अहमद एक्लै “लुसुलुस” गर्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

उनी जहाँ पुग्छन्, धेरैजसो घरमा एउटै प्रतिक्रिया सुनिन्छ—“पत्रकारजी, भित्र बस्नु, चिया पिएर जानुस् ।” मतदाताले उनलाई उम्मेदवारभन्दा पहिले आफ्नो समस्या सुनिदिने, अन्याय पर्दा बोलिदिने र खबर बनाएर सम्बन्धित निकायसम्म पु¥याइदिने पत्रकारका रूपमा चिन्छन् । त्यसैले उनी भोट माग्दै घरमै आइपुग्दा कतिपय स्थानीयहरू अझै विश्वास गर्न सकिरहेका छैनन् ।
पत्रकारिताबाट राजनीतितिर
इकवाल अहमद सुनसरीको इनरुवालाई केन्द्र बनाएर विगत तीन दशकदेखि पत्रकारिता गर्दै आएका परिचित नाम हुन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, दलित र सुकुम्बासीका मुद्दा, प्रशासनिक बेथिति, भ्रष्टाचार र जनताको पीडाका विषयमा उनी निरन्तर रिपोर्टिङ गर्दै आएका थिए । स्थानीयहरू भन्छन्—“समस्या पर्दा कार्यालय होइन, इकवाललाई खोज्थ्यौँ ।”
तर यसपटक इकवालको हातमा क्यामेरा छैन, कलम छैन । उनी भन्छन्, “दलहरूले जनताको समस्यामा ध्यान नदिएकोले भूमिकामा परिवर्तन गर्नुप¥यो । जनताको समस्या उही छ, अनुहारहरू बदलिन्छन्, तर समाधान हुँदैन । त्यसैले दल र नेताले गर्न नसकेको काम गर्न केही समयका लागि कलम थन्क्याएर आएको हुँ ।” उनको यो भनाइ सुनसरी–२ का धेरै मतदातालाई छुन थालेको छ ।
एक्लै हिँड्ने, धेरैको मन जित्ने
अन्य दलका उम्मेदवारहरू सयौँ कार्यकर्ता, झन्डा, बाजागाजा र तामझामसहित घरदैलोमा निस्कँदा इकवाल भने एक्लै हिँडिरहेका छन् । उनीसँग न ठूलो टोली छ, न प्रचार सामग्रीको थुप्रो । तर स्थानीयहरूको भनाइमा, इकवालको अभियानमा भीडभन्दा ठूलो कुरा छ—विश्वास ।
उनको घरदैलोमा भाषण कम हुन्छ, संवाद बढी । उनी धेरै बोल्दैनन्, मतदातालाई बोल्न दिन्छन् । जनताले आफ्ना गुनासा सुनाउँछन्—खानेपानीको समस्या, सुकुम्बासी र जग्गाको विवाद, बेरोजगारी, युवा विदेश पलायन, स्वास्थ्य सेवाको पहुँच, विद्यालयको अवस्था, सडकको दुर्दशा, सरकारी कार्यालयमा हुने घुस र झन्झट ।
इकवाल भन्छन्, “जनता आज पनि उही पुरानै पीडा सुनाउँछन् । यसको अर्थ उनीहरूको जीवनमा राज्य पुगेकै छैन ।”
‘हिजो पत्रकार गुहाथ्र्यौँ, आज हामीलाई गुहार्न आएका छन्’
इनरुवा नगरपालिका–९ का मतदाता इम्माईलले इकवालसँगको भेट सम्झँदै भने, “हिजो हामीलाई समस्या पर्दा यीनै पत्रकारलाई गुहार्नु पथ्र्यो । आज उनी हाम्रो लागि हामीलाई गुहार्न आएका छन् । दल र नेताहरूले गरेको व्यवहार देख्दा यसपटक उनलाई नै अगाडि बढाउनु पर्छ भन्ने लाग्छ ।”
इम्माईलका अनुसार इकवाललाई भेट्दा स्थानीयहरू चुनावी भाषणभन्दा बढी आफ्नै पीडा र आक्रोश सुनाउँछन् । “उहाँलाई देख्दा हामीलाई लाग्छ—कम्तीमा हाम्रो कुरा सुन्ने मान्छे त हो,” उनले भने ।
विपन्न बस्तीमा पुग्दा भावुक हुने उम्मेदवार
इकवालको अभियान इनरुवा आसपासका दलित, गरीब, सुकुम्बासी र विपन्न बस्तीमा पनि केन्द्रित छ । त्यस्ता ठाउँमा पुग्दा उनी आफैँ पनि भावुक हुने गरेका छन् ।
उनी भन्छन्, “बाहिर शहर हेर्दा सबै ठीकठाक जस्तो लाग्छ । तर यस्ता बस्तीमा पुग्दा थाहा हुन्छ—हामी अझै पनि कति पछाडि छौँ । कहिलेकाहीँ लाग्छ, अहिलेसम्म हामीजस्ता नागरिक समाज, पत्रकार, अगुवा वर्गले यी नागरिकका पक्षमा पर्याप्त बोल्न सकेनौँ कि ? आफ्नै कमजोरी सम्झेर धिक्कार लाग्छ ।”
उनको यो आत्मस्वीकृतिले मतदातामा थप भरोसा पैदा गरेको छ । स्थानीयहरू भन्छन्—कम्तीमा इकवालले “समस्या देखेर पनि नदेखेझैँ” गर्ने नेताहरू जस्तो व्यवहार गर्दैनन् ।
जनमतः ‘संसदमा हाम्रो आवाज चाहियो’
सुनसरी–२ का धेरै मतदाताको चाहना एउटै देखिन्छ—संसदमा आफ्नै ठाउँको, आफ्नै पीडाको, आफ्नै भाषामा बोल्ने प्रतिनिधि । पुराना दल र नेताहरूले पटक–पटक चुनाव जिते पनि समस्याको जड नफेरिएको भन्दै उनीहरू निराश छन् ।
त्यही निराशाको बीचमा इकवालको उम्मेदवारीलाई कतिपयले “अन्तिम आशा” का रूपमा हेर्न थालेका छन् । उनीहरूको भनाइ छ—कम्तीमा इकवालले स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा लैजान सक्छन् ।
चुनावी भिडभन्दा अलग, भरोसाको राजनीति
सुनसरी–२ मा इकवाल अहमदको घरदैलो अभियानले एउटा फरक राजनीतिक चित्र देखाएको छ । जहाँ झन्डा र नाराभन्दा बढी आत्मीयता, भाषणभन्दा बढी सुनाइ, र प्रचारभन्दा बढी विश्वास छ ।
हिजो जनताको पीडामा कलम र क्यामेरा लिएर दौडिने पत्रकार आज मतदाताको ढोकामा पुगेर मत मागिरहेका छन् । यही दृश्यले सुनसरी–२ मा चुनावी प्रतिस्पर्धा मात्र होइन, राजनीतिप्रतिको जनभावना र परिवर्तनको चाहनालाई पनि नयाँ ढंगले उजागर गरिरहेको छ ।
