सुशासन, रोजगारी र महिला नेतृत्वका लागि जनतामाझ गएको छु : रामकुमारी चौधरी [अन्तर्वार्ता]
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सुनसरी क्षेत्र नम्बर-२ मा रामकुमारी चौधरी उम्मेदवार बनेकी छन् । २०७४ सालमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई कृषि, भूमि व्यवस्थापन तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी चौधरी यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद पुग्ने तयारीमा छन् ।

महिला, युवा र सिमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने नेतृका रूपमा चिनिएकी उनी सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बताउँछिन् । सुनसरी–२ मा मतदाताको उत्साहजनक समर्थन पाएको दाबी गर्दै उनले यस निर्वाचनलाई विचार र व्यक्तित्वको मूल्यांकन गर्ने अवसरका रूपमा हेर्न आग्रह गरेकी छन् । यही सन्दर्भमा रामकुमारी चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।
–सुनसरी–२ मा तपाईंको उम्मेदवारी किन ?
पहिलो कुरा त यो देशमा अहिले जुन किसिमको बेथिति देखिएको छ, त्यसको अन्त्यका लागि नै मेरो उम्मेदवारी हो । भ्रष्टाचार नियन्त्रण अहिले देशको सबैभन्दा ठूलो मुद्दा बनेको छ ।
त्यससँगै सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, युवा नेतृत्व विकास गर्न प्रेरित गर्ने र पछाडि पारिँदै आएको महिला नेतृत्वलाई अघि बढाउने उद्देश्यका साथ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सुनसरी क्षेत्र नम्बर २ मा मेरो उम्मेदवारी रहेको छ । महिलाको योगदान, योजना र क्षमतालाई राज्यका नीति निर्माण तहसम्म पु¥याउन जरुरी छ भन्ने विश्वासका साथ म चुनावी मैदानमा उत्रिएकी हुँ ।
–प्रतिनिधि सभामा सांसदका रूपमा पुगेर तपाईं के गर्नुहुन्छ ? प्राथमिकता के–के छन् ?
संसद भनेको कानुन बनाउने सर्वोच्च थलो हो । त्यसैले मेरो पहिलो प्राथमिकता कानुन निर्माण र सुधारमै केन्द्रित हुनेछ । अहिले विद्यमान कानुनमा धेरै त्रुटि छन्, ती सच्याउन आवश्यक छ । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति बनाउने विषय पनि बहसको केन्द्रमा ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ ।
संविधानले दिएका धेरै अधिकार अझै ऐनमार्फत कार्यान्वयन हुन बाँकी छन् । उदाहरणका लागि जाति र जनसंख्याको आधारमा विशेष क्षेत्रको अधिकार सम्बन्धी ऐन निर्माण हुन सकेको छैन । त्यसैगरी संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी समस्या हटाएर समन्वय मजबुत बनाउने कानुन निर्माणमा मेरो विशेष जोड रहनेछ । प्रदेश र स्थानीय तह बलियो बने मात्रै संघीयता सफल हुन्छ भन्ने मेरो विश्वास हो ।
–मतदातासँग भेटघाट गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मतदाताबाट मैले पाएको माया र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ । अहिले मतदाताको धारणा पार्टीभन्दा पनि व्यक्ति राम्रो हुनुपर्छ भन्ने देखिन्छ । ‘हाम्रोलाई होइन, राम्रो मान्छेलाई भोट दिने’ सोच व्यापक रूपमा देखिएको छ । यही कारणले यहाँका स्थानीय बासिन्दाले मलाई छोरी–चेलीका रूपमा सम्मान गर्दै समर्थन जनाइरहनुभएको छ ।
म यही क्षेत्रकी स्थानीय हुँ, महिला हुँ, युवा हुँ र थारु समुदायबाट पनि प्रतिनिधित्व गर्छु । तर मतदाताले मलाई केवल थारु समुदायको उम्मेदवारका रूपमा होइन, सबै समुदायका लागि काम गर्न सक्ने पात्रका रूपमा हेर्नुभएको छ । त्यसैले धेरैले नेकपाको ‘तारा’ चुनाव चिन्हमा भोट दिने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ ।
–थारु समुदायको प्रतिनिधि भएकाले यस समुदायका समस्या कसरी समाधान गर्नुहुन्छ ?
सदनमा पुगेपछि कुनै एक जातको मात्रै मुद्दा उठाउने होइन ।
सबै जातजाति, क्षेत्र, धर्म र लिङ्गका समस्या उठाउनु सांसदको दायित्व हो । तर थारु समुदायले उठाउँदै आएको मुख्य माग भनेको आफ्नो भाषा, धर्म र संस्कृतिलाई लिपिबद्ध गरेर संविधान र ऐन–कानुनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो । संविधानमा उल्लेख त छ, तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
त्यसैगरी थारु समुदायको राजनीतिक, प्रशासनिक, प्रहरी तथा कर्मचारीतन्त्रमा पर्याप्त प्रतिनिधित्व हुनुपर्छ भन्ने माग छ । यी विषयमा म व्यक्तिगत र पार्टी दुवै तहबाट कानुनी तथा व्यवहारिक पहल गर्नेछु ।
–यस क्षेत्रमा तपाईं निर्वाचित हुने आधार के छन् ? कति मत ल्याएर जित्ने लक्ष्य छ ?
यस क्षेत्रमा करिब १ लाख ५८ हजार मतदाता छन्, जसमध्ये करिब १ लाख मत खस्ने अनुमान छ । अहिले मतदाताले आन्दोलनका नाममा अराजकता मच्चाउने र बालबालिकासमेत प्रयोग गर्ने प्रवृत्तिलाई अस्वीकार गरिसकेका छन् । नेकपा (एमाले) र नेपाली कांग्रेस नेतृत्वको अघिल्लो गठबन्धन सरकारप्रति जनआक्रोश स्पष्ट देखिन्छ ।
हाम्रो पार्टीको एजेन्डा, विचार र सिद्धान्त स्पष्ट छन् । ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको नेकपा र मेरो उम्मेदवारीप्रति मतदाताको भरोसा देखिन्छ । म युवा, महिला, सिमान्तकृत समुदायको प्रतिनिधि मात्र होइन, राजनीतिक रूपमा स्थापित र अनुभव प्राप्त व्यक्ति भएकाले यही आधारमा मेरो जित सुनिश्चित हुने मैले विश्वास लिएकी छु ।
