इनरुवा, फागुन १६ गते । सुनसरीको इटहरी उपमहानगरपालिका १० डुमोटका स्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । सुनसरी प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र १–०२–००१ क ४५०७ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका ७ का २८ वर्षीय अजयकुमार चौधरी गम्भीर घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि विराट मेडिकल कलेज, बूढीगंगा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल, टिपर तथा टिपर चालक इटहरी ७ का ३८ वर्षीय फुलवान चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको टिपरले ‘ओभरटेक’ गर्ने क्रममा ठक्कर दिएको खुलेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।