होलीमा जथाभावी रंग हाल्नेलाई कार्वाही
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १६ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले मर्यादित र सभ्य ढंगले होली र फागु पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) सम्बन्धी सूचना जारी गर्दै रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, प्लाष्टिकजन्य लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंङ्ग लगाउने, बाटोमा हिड्ने यात्रीहरुलाई दुःख दिने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं सेवन गरी सवारी साधन चलाउने, विना हेल्मेट मोटरसाइकल चलाउने, मोटरसाइकलमा २ (दुई) जना भन्दा धेरै सवार हुने, अपरिचितलाई जिस्काउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्नेलाई कार्वाही गर्ने जनाएको छ । प्रशासनले चर्को आवाजमा वाजा (डिजे) बजाउने, सार्वजनिक स्थलमा सामूहिक प्रकृतिका कार्यक्रम÷समारोह गर्ने आदि जस्ता क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न÷नगराउन आह्वान गरेको छ । सूचनामा भनिएको छ, “आसन्न प्रनितिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मध्यनजर गरी जिल्लावासीमा होली पर्व भिडभाड नगरी परिवार तथा आफन्तजन बीचमा मात्र मनाउन यो सूचना जारी गरिएको छ । ” प्रशासनको सन्देशमा सूचना विपरितका क्रियाकलापहरु कोही–कसैले गरे वा गराएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कार्बाही भई जाने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।होलीको नाममा अमर्यादित र उच्छृंखल गतिविधि गर्ने व्यक्तिलाई कडा कानूनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । यस वर्ष पहाडी जिल्लामा फागुन १८ गते र तराईका जिल्लामा १९ गते होली मनाइदै छ ।

