निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सम्पन्न, सोमबार मतदान केन्द्रमा जाने
सुनसरी
२०८२ , फागुन १७ गते । सुनसरीको चार वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खटिने कर्मचारीका लागि तालिम सम्पन्न भएको छ । एक दिनका दरले चार दिनसम्म आयोजना भएको तालिम लिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्ती पत्र वितरण गरेको छ भने सोमबार मतदान केन्द्रमा निर्वाचन सामग्री सहित जाने भएको छ । फागुन २१ गते प्रतिनीधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सम्पन्न भएको र नियुक्ती पत्र वितरण गरेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । जिल्लामा चारवटा निर्वाचन क्षेत्रमा १६७ मतदान स्थलमा खटिने एक हजार २७७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको निर्वाचन कार्यालय इनरुवा सुनसरीका अधिकारी पौडेलले जानकारी दिनुभयो ।
कर्मचारीलाई निर्वाचनका बेलामा निर्वाह गर्नुपर्ने भुमिका, मतपेटिकाको सुरक्षा, मतपत्रको प्रयोग, सुरक्षाकर्मीसंगको समन्वय, निर्वाचन सम्पन्न भएपछि मतपेटिकामा लगाउने सिल लगायतका बिषयमा जानकारी दिइएको छ ।
