जयकृष्ण यादव । इनरुवा

इनरुवा, फागुन १८ गते । सुनसरीको चार वटा निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी पुगेका छन् । जिल्लाका चार वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको १२ वटा स्थानीय तहका १२४ वटै वटाका मतदान केन्द्रमा मतदान सामग्री र मतदान अधिकृत सहितका कर्मचारी पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार मंगलबार होली भएकाले सोमबार नै सबै मतदान केन्द्रमा मतदान सामग्री र अधिकृत सहितका कर्मचारी पुगेका छन् । यहाँका दुई उपमहानगरपालिका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकाका १२४ वटामा गरि कुल १६७ मतदान स्थलमा ६२४ मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका सहितका ५१ प्रकारका निर्वाचन सामग्री र कर्मचारीहरु ख्टिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ स्थानीय तह रहेको सुनसरीमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी गरी कुल पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नं. २ मा एक लाख ५६ हजार ९९० रहेका छन् भने सबैभन्दा कम मतदाता रहेको क्षेत्रमा एक लाख ३४ हजार ३०२ जना कायम भएका छन् । सुरक्षाका दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले दक्षिणी सीमा नाकाहरूमा ५९ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेर सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा योजना लागू गरिएको छ । यसअघि जिल्लामा ४ वटा निर्वाचन क्षेत्रमा १६७ मतदान स्थलमा खटिने १ हजार २ सय ७७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको थियो ।


कर्मचारीलाई निर्वाचनका बेलामा निर्वाह गर्नुपर्ने भुमिका, मतपेटिकाको सुरक्षा, मतपत्रको प्रयोग, सुरक्षाकर्मीसंगको समन्वय, निर्वाचन सम्पन्न भएपछि मतपेटिकामा लगाउने सिल लगायतका बिषयमा तालिम दिइएकाले मतदान सम्पन्न गर्न सहज हुने गरि केन्द्रमा कर्मचारी खटाइएको निर्वाचन कार्यालय सुनसरीका सूचन अधिकारी कुमारी अर्चायले जानकारी दिनुभयो । यसपटक नयाँ मतदाता परिचय पत्र नपठाएकाले मतदान गर्न जाँदा विभिन्न ६ वटा कागजात मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नुहुने समेत आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा (फोटो सहितको) र सवारी चालक अनुमतिपत्र मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्ने आचार्यले जानकारी दिनुभयो ।