सुनसरी
२०८२, फागुन २० गते । सुनसरीको विभिन्न निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रहरु निर्माण भएको छ । दुईदिन अघि नै मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले पहिलो चरणमा दलका प्रतिनिधिहरुसंग छलफल गरेकोमा बुधबार मध्यानसम्ममा सबै मतदान केन्द्रहरु निर्माण सम्पन्न गरेको हो । महिला र पुरुष तथा गर्भवती, जेष्ठ नागरिक, अशंत अपांगता भएकाहरुलाई गरी तीन लाईनको लागि मतदान केन्द्र निर्माण सम्पन्न भएको छ । जिल्लाको दुई उपमहानगरपालिका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकाका १२४ वटामा गरि कुल १६७ मतदान स्थलमा ६२४ मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका सहितका ५१ प्रकारका निर्वाचन सामग्री र कर्मचारीहरु पुगेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ स्थानीय तह रहेको सुनसरीमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी गरी कुल पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नं. २ मा एक लाख ५६ हजार ९९० रहेका छन् भने सबैभन्दा कम मतदाता रहेको क्षेत्रमा एक लाख ३४ हजार ३०२ जना कायम भएका छन् ।


यसैबीच निर्वाचनमा मतदान गर्नका लागि मतदाताहरु व्यग्र प्रतिक्षामा रहेका छन् । पहिलो पटक मतदान गर्ने नयाँ मतदातादेखी पुराना मतदाता समेत मतदान गर्नका लागि मतदाताहरु व्यग्र प्रतिक्षामा रहेको पर्यवेक्षक तथा अधिवत्ता सुकदेव चौधरीले बताउनुभयो ।
इनरुवा नगरपालिका ९ बबियाका सुरज यादवले पहिलो पटक मतदान गर्न पाउने भएकाले उत्साहित भएर मतदान गर्नका लागि व्यग्र प्रतिक्षामा रहेको बताउनुभयो ।
इनरुवा २ की मनिषा शर्मापनि पहिलो पटक मतदान गर्न तयारीमा रहेको बताउनुभएको छ । चार महिना अघि मतदाता नामावलीमा नाम समावेश भएको र पहिलो पटक मतदान गर्नका लागि व्यग्र प्रतिक्षामा रहेको प्रतिकृया दिनुभयो । निर्वाचन पछि सुशासन, विकास र समृद्धि अनि युवा स्वरोजगार सृजना हुने अपेक्षा सहित मतदान गर्न आतुर रहेको शर्माको कथन छ ।
इन्सेकले गर्यो मतदान पूर्व मतदान केन्द्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले सदरमुकाम इनरुवाको मतादन केन्द्रहरुको अनुगमन गरेको छ । मतदान पूर्व मतदान केन्द्रको अनुगमन गरेको इन्सेक प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नंम्बर २ अन्तर्गत इनरुवा नगरपालिका–२ को बालमन्दिर माबि र राजाजी मावि केन्द्र तथा इनरुवा १ को भगवती मावि सहितको मतदान केन्द्रमा भएको बुथ निर्माण र तयारीको अवस्थाको बारेमा अनुगमन गरेको यादवले बताउनुभयो ।
त्यसैगरी कोशी गाउँपालिका १ लौकही र कोशी २ पश्चिम कुशाहाको मतदान केन्द्र समेत बुथ निर्माण र तयारीको अवस्थाको बारेमा जानकारी सहितको अनुगमन गरेको यादवले बताउनुभयो । निर्वाचन पर्यवेक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन सुनसरी बार इकाईका सदस्य सुकदेव चौधरीले समेत मतदान केन्द्रको निर्माणदेखी कर्मचारीहरुको व्यवस्था र सुरक्षाको बारेमा जानकारी लिनुभएको छ ।

१, सुनसरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नंम्बर 4 मतदान केन्द्रमा बुथ निर्माण गरेको अवस्था ।