“देशभरी नै यति धेरै उल्लास छाइरहँदा झापा-५ प्रति विशेष कृतज्ञता र नमन छ। धन्यवादका पात्रहरू धेरै छन्, एक-एकलाई समेट्न गाह्रो छ। तर यो लेखिरहँदा हरेक अनुहार मेरो मानसपटलमा मुस्कुराइरहेका छन्। यस क्षेत्रका संगठनका जोशिला साथीहरूलाई धेरै धेरै धन्यवाद। कति असहजताका बाबजुद पनि दिन-रात नभनी तपाईँहरूले मेहनत गर्नुभयो। तपाईँहरूको मेहनत आज संसारले देखिरहेको छ। प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनु भएका सबै साथीहरूलाई धन्यवाद।

तर यसैबीच भन्नु पर्ने कुरा- संस्थामा औपचारिकता हुन्छ, मेहनत हुन्छ, गन्ती हुन्छ, मापन हुन्छ। तर परिवारमा प्रेम हुन्छ, प्रार्थना हुन्छ, आस्था हुन्छ, आशीर्वाद हुन्छ। म एउटा सचेत नागरिक हुँ भन्दै झापा छिरिरहँदा यो ठाउँले मलाई छोरी मान्यो, चेली मान्यो। यी सबै स्वागत, सम्मान र स्पर्शमा मैले माया देखेँ, आफ्नो उम्मेदवारप्रतिको विश्वास र आस्था देखेँ।

उम्मेदवारले विजय प्राप्त गर्नुभयो, तर मैले फेरि अर्को घर पाएँ, माइती पाएँ- जसले मलाई दृढता र आत्मविश्वास सिकाएको छ। मेरो व्यक्तित्वमा नयाँ आयामहरू थपिएका छन्, जसले मलाई अझै सबल, सशक्त र जिम्मेवार बनाएको छ।

यहाँहरूले दिएको अपनत्व र भरोसाले अब हिँड्ने हरेक पाइला अझ अर्थपूर्ण बन्नेछ। हिजो पनि म यहीँ थिएँ, आज पनि म यहीँ छु, र भोलि पनि म यहीँ भेटिनेछु।

हजुरहरू सबैलाई धेरै-धेरै धन्यवाद 🌻।”