दुई पूर्व मन्त्रीलाई जराजित गर्दै सुनसरी ३ मा चौधरी निर्वाचित
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २४ गते । सुनसरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा दुई जना पूर्वमन्त्रीलाई भारी मतले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई २६ हजार ९२० मतान्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रास्वपाका उम्मेदवार चौधरीले १४ पटक मन्त्री भइसक्नुभएका गच्छदार र दुई पटक मन्त्री तथा राज्यमन्त्री हुनुभएकी नेकपा (एमाले) की भगवती चौधरीलाई दोब्बरभन्दा बढी मतले पछाडि पार्दै ऐतिहासिक जित निकाल्नुभएको हो । विजयी भएसँगै चौधरीले निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो प्रमाणपत्र ग्रहण गर्नुभएको छ । अन्तिम परिणाम अनुसार अशोककुमार चौधरीले ४७ हजार ४२१ मत पाउँदा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ र एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।

रोचक चुनावी प्रतिस्पर्धा ः भारी मतान्तर र विरासतको अन्त्य
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को यस पटकको चुनावी नतिजालाई नेपाली राजनीतिकै एउटा ठुलो ’अपसेट’ का रूपमा हेरिएको छ । देशमा प्रजातन्त्र स्थपना भएयता पटकपटक गरि १४ पटक मन्त्री भई यसै क्षेत्रबाट निरन्तर निर्वाचन जित्दै आउनुभएका नेपाली कांग्रेसका हेभीवेट नेता विजयकुमार गच्छदार र एमालेकी प्रभावशाली नेतृ तथा दुई पटक मन्त्री र राज्यमन्त्री भईसक्नुभएकी भगवती चौधरी दुवैलाई नयाँ दल (रास्वपा) का उम्मेदवारले भारी मतान्तरले पराजित गर्नु सामान्य घटना होइन ।
यहाँ दोब्बर बढी मतको अन्तर ः
विजयी हुनुभएएको अशोककुमार चौधरीले प्राप्त गर्नुभएको मत निकटतम प्रतिद्वन्द्वी गच्छदारको भन्दा २६ हजार ९२० ले बढी हो । यसले पुरानो विरासत बोकेका नेताहरूभन्दा मतदाताले नयाँ अनुहार र परिवर्तनलाई रोजेको स्पष्ट सन्देश दिएको छ ।
पूर्व मन्त्रीहरूको पराजयः
पटक–पटक सत्ताको नेतृत्व गरेका र सोही क्षेत्रमा लामो समयदेखि पकड जमाएका नेताहरूलाई पछाडि पार्दै एकै पटक दुई ’शक्तिशाली’ उम्मेदवारलाई दोस्रो र तेस्रो स्थानमा सीमित गरिदिनुले सुनसरीको राजनीतिक समीकरणमा ठुलो फेरबदल ल्याएको छ । यो जितले सुनसरी–३ मा तीन दशकदेखि कायम राजनीतिक वर्चस्वलाई तोडेर ’घण्टी’ को बलियो उपस्थिति जनाएको रास्वपाका जिल्ला सभापती सागर दाहालले जानकारी दिनुभयो ।
