जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २९ गते । सुनसरीको इनरुवा नगरपालिकाद्वारा आयोजित ११६ ओैँ अन्तराष्टिय श्रमिक महिला दिवसको सन्दर्भमा इनरुवा क्षेत्रको प्रथम महिला समालोचक सम्मान २०८२ बाट साहित्यकार समालोचक विमला पोखरेल सम्मानित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको सम्मान कार्यक्रममा पोखरेललाई इनरुवा क्षेत्रको प्रथम महिला समालोचक सम्मान २०८२ द्वारा सम्मानित गरेको हो । सम्मानित पोखरेलले सम्मान हुने अवसर जुराई दिनु भएकोमा इनरुवा नगरपालिकाका मेयर,उपमेयर लगायत न्यायिक समितिप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

पोखरेललाई विगतका दिनमा पनि इनरुवा नगरपालिकाले नबिर्सेर सम्मान गर्दै आएकोमा ११५ ओैँ ’अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को सन्दर्भमा इनरुवा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा इनरुवाको’ प्रथम महिला समालोचक –२०८१ को’ उपाधिबाट सम्मान उपमेयर विनिता कुमारी मेहताको हातबाट प्राप्त गर्नुभएको थियो । त्यसैगरी पूर्व मेयर राजन मेहता एवम् उपमेयर जमुना गौतम (पोख्रेल )को कार्यकालमा दुईवटा सम्मान प्राप्त भएको पोखरेलले स्मरण गर्नुभएको थियोे । जसमा २०७६ सालको तीज विषेश कार्यक्रममा साहित्य सम्मान–२०७६ द्वारा सम्मानित गर्नुका साथै २०७८ सालमा नगरपालिकाद्वारा आयोजित एक भव्य कार्यक्रममा इनरुवाको प्रथम महिला कविको उपाधिद्वारा सम्मान गरिएको थियोे । पोखरेलले फेसबुकमा भन्नुभएको छ , “मेरो साहित्यिक यात्रालाई अझ मजबुत बनाउन इनरुवा नगरपालिकाले खेलेको भूमिकाप्रति विशेष आभार प्रकट गर्दै यो सम्मान दिलाउन अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरूमा नमन गर्दछु । ”

इनरुवाका सिटी सफारी चालक महिला सम्मानित
सुनसरीको इनरुवा नगरपालिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा सिटि सफारी महिला चालकहरुलाई सम्मान गरेको छ । नगर क्षेत्रमा आफ्नो जिविकोपार्जन सहित बालबालिकाहरुलाई शिक्षा र घरको गर्जो टार्न सहासिक काम गर्दै आएका सिटि सफारी महिला चालकहरुलाई सम्मान गरेको हो । इनरुवाकी सिटी सफारी महिला चालकहरु अनिता भट्टराई, लिला चौधरी, कल्पना पोखरेल, पावर्ती भट्टराई मनिता मण्डल,कारो कुमारी साह र लोककुमारी दाहाललाई सम्मान गरेको छ । यस्तै कार्यक्रममा महिला अधिकारका विषयमा काम गर्ने संघसंस्थाका महिलाहरुलाई समेत सम्मान गरेको इनरुवा नगर उपप्रमुख विनिताकुमारी मेहताले जानकारी दिनुभयो । उहाँले सभ्य र हिंसारहित समाज निर्माणमा सबैको महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुहुदै सिटि सफारी महिला चालकहरुलाई सम्मान गरेको जानकारी दिनुभयो । महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको समाधानका लागि कानुनी आधार तय गर्न सचेतनाका कार्यक्रम समेत गरिएको बताउनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, स्वयंसेवक, जनप्रतिनिधि कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।


१, सुनसरीको इनरुवा नगरपालिकाले सिटि सफारी महिला चालकहरुलाई सम्मान गरेपछि सामूहिक तस्विरमा ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा