सुनसरीमा वर्षा भएपछि किसान खुसी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २० गते । सुनसरीमा एक महिनादेखीको सुख्खा, चर्को घाम र गर्मीका कारण खडेरी भएको बेला तीनदिनदेखि वर्षा भएपछि यहाँका किसानहरु खुसी भएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन् ।
लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बाली सुक्ने र प्रभावित भएकोमा आकाशे परेको पानीले राहत महसु्स भएको जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ७ का किसान शिवराम यादवले बताउनुभयो ।
यादवका अनुसार धान रोपाई गर्ने बेलामा आवश्यक मात्रामा पानी परेपनि त्यसपछि साउनमा बाढी आउने गरि वर्षा भएको र त्यसयता एक महिनादेखी खडेरी भएपछि किसानहरु चिन्तामा थिए तर वर्षा भएकाले राहतको महसुस गरेका छन् ।
सिँचाइ अभावमा धान बाली डढ्ने समस्या देखिन थालेको बेला स्थानीय किसानहरुले भगवान इन्द्रदेव रिसाएको भन्दै भाकल गरेको र केहीले मौलिक जटजाटिन समेत खेलेको एकसाता पछि वर्षा भएकाले झनै खुसी भएका छन् ।
अकाशे भरमा धान खेती हुेन क्षेत्र भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढी , कोशी सहितका क्षेत्रका किसानलाई वर्षा भएपछि राहत मिलेको देवानगञ्जका किसान रामवृक्ष मेहताले बताउनुभयो ।
तीनदीनयता जिल्लाको दक्षिणवर्ती क्षेत्रमा मुसलधारे वर्षादेखी सिमसिमे पानी परेकाले गर्मीमा सितल भएको अर्का स्थानीय मोहोसिम आलमले जानकारी दिनुभयो ।
