काठमाडौँ — अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

हिजो बेलुका ५ बजेतिरबाटै मेलम्चीमा अब के हुने हो भन्ने छटपटी सुरु भइसकेको थियो । लार्केबाट मेलम्चीमा पानी ल्याउने भनिएको मुहानमा पहिरो गएर खोला थुनिएको खबर सुनेको केही घन्टापछि नै थुनिएको भाग फुटेर मेलम्ची बजारमा पानी पस्न थालिसकेको थियो ।

पहिलो बाढी आएको केही बेरमा हेलम्बुबाट पनि उस्तै खालको बाढी आयो । पानी मात्रै नभएर पहिरोको लेदोसहितको पानी बगिरहेको छ । एकैछिनमा खोला शान्त भएजस्तो हुन्छ अनि एकैछिन खोला उर्लेर आउँछ । सायद ठाउँठाउँमा पहिरो जाने, खोला थुनिने, थुनिएको भाग फुटने र फेरि बाढी आउने भएजस्तो देखिन्छ ।

हामी मेलम्ची बजार छेउको इन्द्रावती क्याम्पस छेउमा बसेर बजार पूरै तहसनहस भएको हेरिरहेका छौं । बजारका मानिसहरु हिजो रातिदेखि सुतेका छैनन् । सबैजना छटपटीमा यता र उता कुदिरहेका छन् । कोही भने बग्न लागेको घरभित्रबाट केही सामान निकाल्न सकिन्छ कि भन्ने प्रयासमा छन् । कोही भने बगेका सामान समात्न सकिन्छ कि भन्ने आशमा छन् । कोही भने आफ्नो ज्यान जोगाउन भागदौड गरिरहेका छन् ।

अहिले पनि खोलामा पानीको सतह घटेको छैन । मेलम्ची बजारको सडकको खोला छेउका घरहरु अधिकांश पानीभित्र छोपिएका छन् । दुई तलाका घरसम्म पानीले छोपिएका छन् । प्रदेश सरकारको पहलका करिब ८ करोडको लागतमा बनेर अन्तिम चरणमा पुगेको कर्भड हल पानीले पूरै छोपिएको छ । रेडियो मेलम्चीको तीन तलाको भवनमध्ये दुई तला पूरै पानीमा परेको छ ।

२ वटा पक्की पुल र ३ वटा कच्ची पुल बगिसकेको छ । बगेको पुल अलिक अगाडि पुगेर छडके परेर बसेको देख्न सकिन्छ । बगेको पुलले पानीको बहाव रोकेको र खोला बस्तीतिर पसेको देखिन्छ । केही बेरअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले घरको छतमा फसेका दुईजनाको उद्धार गरेको छ ।

हिजो बेलुकादेखि नै मेलम्चीमा बिजुली गएको छ । बिजुलीका पोलहरु पनि कतिपय ठाउँमा बगाएको छ । बिजुली नभएका कारण मोबाइल पनि धेरैको बन्द हुने देखिन्छ । सञ्चार सम्पर्क विच्छेद भयो भने मेलम्ची कटेर जाने गाउँको कुनै खबर नआउने अवस्था हुनसक्छ । अहिले मेलम्ची बजार कटेर अगाडि बढन सकिने अवस्था छैन् । स्थिति भयावह छ ।

मेलम्चीको पछिल्लो अवस्थाबारे मेलम्ची नगरपालिका–११ का सचिव मधुविलास देवकोटाको भनाइ