जुगेश बाबु दास । सुनसरी
। जीवन विकास लघुवित्त वित्तीय संस्था लि. हरिनगरा शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, ऋण व्यवस्थापन तथा आर्थिक अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

गोष्ठीमा वार्षिक मूल्याङ्कनको आधारमा उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई विभिन्न विधामा प्रमाणपत्र, नगद पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । संस्थाले यस्ता कार्यक्रममार्फत सदस्यहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रम संस्थाका केन्द्र कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीको अध्यक्षता र हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, वडा नं. ४ का अध्यक्ष देवनारायण मेहता तथा वडा नं. १ का अध्यक्ष प्रविन प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख राकेश कुमार ठाकुर, लेखा विभागीय प्रमुख तथा प्रबन्धक अन्जय कुमार मण्डल, इलाका प्रहरी कार्यालय हरिनगरका प्रमुख कृष्ण बहादुर श्रेष्ठ तथा अन्य अतिथि एवं सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि अन्सारीले जीवन विकासले समाजमा उदाहरणीय कार्य गर्दै आएको त्यसमा विशेषगरी महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले महिलाको सशक्तिकरणमार्फत समाज विकासमा योगदान पु¥याएको उल्लेख गर्दै संस्थाको प्रशंसा गर्नुभयो । साथै विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
सभाअध्यक्ष रेग्मीले हरिनगरा शाखाले हालसम्म ३१ करोड ५४ लाख रुपियाँ ऋण लगानी गरेको र २० करोड ८१ लाख रुपियाँ बचत संकलन गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले यस उपलब्धिलाई शाखाको उल्लेखनीय प्रगति भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै सदस्यहरूले समयमै ऋण चुक्ता गर्न सके पुनः ऋण लिन सहज हुने र आपतकालीन अवस्थामा संस्थाबाट सहयोग प्राप्त हुने बताउनुभयो । उनीहरूले ऋणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सके आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गर्नुभयो ।


शाखा प्रमुख ठाकुरका अनुसार हरिनगरा शाखामा हाल ४ हजार ४९२ सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा अति विपन्न परिवारका ६ जना विद्यार्थीलाई एक वर्षका लागि शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा समेत गरिएको छ । संस्थाले हाल साधारण, आकस्मिक, आवास, शिक्षा, ऊर्जा, कृषि, व्यवसायिक, अनुशासन तथा डिजिटल गरी ९ प्रकारका ऋण सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ३५ जना सदस्यलाई पशुपालनसम्बन्धी तालिम प्रदान गरी उद्यमशीलतामा अभिमुख गराइएको जानकारी दिइएको छ । कार्यक्रमका अवसरमा ३ जना उत्कृष्ट बचतकर्ता, ३ जना उद्यमी, ३ जना सफल ऋणी, १ जना उत्कृष्ट कर्मचारी तथा ५ वटा केन्द्रलाई पुरस्कार प्रदान गरिएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो । जीवन विकास लघुवित्त वित्तीय संस्था नेपालका अग्रणी लघुवित्त संस्थामध्ये एक भएको जनाएको छ । यस संस्थाले विशेषगरी ग्रामीण तथा विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । साना व्यवसाय, कृषि तथा स्वरोजगारका क्षेत्रमा लगानी प्रवद्र्धन गर्दै आयआर्जन वृद्धि, गरिबी न्यूनीकरण तथा सामाजिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । साथै वित्तीय साक्षरता, सीप विकास तालिम तथा सामाजिक अभियानमार्फत समुदायको समग्र विकासमा समेत संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।


कार्यक्रममा दिएको जानकारी अनुसार कर्जा सदुपयोग, बचत, र वित्तीय अनुशासनबारे जानकारी दिन ’केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गरेका हुन् । कार्यक्रमले कर्जा व्यवस्थापन, डिजिटल बैंकिङ, र उद्यमशीलता विकासमा केन्द्र प्रमुखहरूलाई प्रशिक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्य गरेको छ । कार्यक्रममा वित्तीय ज्ञानमा सहभागीहरूलाई बचतको महत्व, कर्जाको सहि सदुपयोग र लघुवित्तको नियमहरूबारे जानकारी दिइएको छ भने केन्द्र व्यवस्थापनमा केन्द्र प्रमुखहरूलाई समूह सञ्चालन, बैठक सञ्चालन, र अनुशासित रूपमा कर्जा असुलीबारे तालिम दिइएको छ ।


गोष्ठीमा उद्यमशीलता तर्फ उत्कृष्ट उद्यमी र बचतकर्ताहरूलाई सम्मान गरी सदस्यहरूलाई उद्यम गर्न प्रोत्साहित गरिएको छ । समस्या समाधानमा लघुवित्त र सदस्यहरूबीचको सञ्चार सुधार गरी कर्जासम्बन्धी समस्याहरू हल गर्ने सवालमा जानकारी दिएको थियो ।
कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तीकरण र वित्तीय पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।