भूमिहीन सुकुसम्बासी र अव्यवस्थितलाई निस्सा प्रदान
इनरुवा, बैशाख २८ गते । काठमाण्डौमा सुकुम्बासी बस्तीमा जोडर चलेपछि सुकुम्बासीहरु त्रसित बनेको र केहीलाई त्रसित बनाइएको गुनासो आएको बेला सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ का ३०१ जना भूमिहीन सुकुसम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण पूर्वको निस्सा प्रदान गरिएको छ । हरिनगर १ रामनगर भुटाहाका दलित बस्ती सहित भूमिहीन सुकुसम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई निस्सा प्रदान गरेको हरिनगर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार २०७९ सालमा फारम भरेका भूमिहीन सुकुसम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो । तत्कालिन भुमिहित तथा सुकुम्बासी समस्या समाधान आयोग र भुमि आयोगमा भरेको भारमका आधारमा विवरण भरेकाहरुलाई निस्सा आएर पनि वितरण नभएकोमा श्रम संस्कृति पार्टीका नेताहरुको आग्रह र आवेदकहरुको दबावमा चार वर्षपछि वडामा निस्सा वितरण गरेको श्रम संस्कृति पार्टीका सुनसरी जिल्ला सहसचिव अमानुल्लाह अंसारीले जानकारी दिनुभयो । यता गत वर्ष समेत फारम भरेका ५० बढी परिबारलाई समेत निस्सा प्रदान गरिने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

हरिनगर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ता र श्रम संस्कृति पार्टीका सुनसरी जिल्ला सहसचिव अमानुल्लाह अंसारीले संयुक्त रुपमा गाउँपालिकाको वडा नं. १ का ३०१ जना भूमिहीनलाई निस्सा हस्तान्तरण गर्नुभएको हो । निस्सा वितरण गर्दै वडा अध्यक्ष गुप्ताले जग्गा नभएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताएउनुभयो । लालपुर्जा प्राप्तिका लागि वडाले आवश्यक सहजीकरण गर्ने वडा अध्यक्ष गुप्ताले प्रतिबद्धता जनाउनुभएको छ । सुनसरीमा तीस हजार भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको भुमि आयोगको तथ्याङ्क छ ।

१, सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ रामनगर भुटाहाका दलित बस्ती सहित भूमिहीन सुकुसम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई निस्सा प्रदान गर्नुहुदै हरिनगर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ता ।
तस्विर ः
