इनरुवा , साउन २८ गते । सुनसरीको दुहबी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाले वर्षेनी सञ्चालन गर्दै आएको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत बिभिन्न वडाका २३ जना अपाङ्गता भएका व्यक्तिलाई माग र आवश्यकता अनुसार २३ थान सहायक सामग्री वितरण गरेको हो । दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छादारले लाभग्राहीहरूलाई सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा ह्विलचेयर, वाकर, एल स्टिक, कृतिम हात, बैसाखी, सेतो छडी, टॉयलेट चेयर लगायतका सामग्री वितरण गर्नुभएको थियो । प्रमुख गच्छादारले अपाङ्गता भएका व्यक्तिहरू पुर्वजन्मको पापको कारण होइनन् प्रकृति र आवश्यक पोषणयुक्त खानाको अभावमा देखिएको अपाङ्गताको आवश्यकता पहिचान गरी उनीहरूको दैनिक आवतजावत, स्वास्थ्य तथा व्यक्तिगत जीवनमा सहजता ल्याउने उद्देश्यले यस्ता सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो । नगर प्रमुख गच्छादारले अपाङ्गता भएका नागरिकलाई सहयोग र पुनस्र्थापनाका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको साथै सहायक सामग्रीले लाभग्राहीको दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता पहिचान गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
दुहबी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानपूर्वक र आत्मनिर्भर जीवनयापन गर्न सहयोग पु¥याउने उद्देश्यले अपाङ्गता रोकथाम, पुनस्र्थापना तथा सहायक सामग्री वितरण कार्यक्रमलाई हरेक वर्ष सञ्चालन गर्दै आएको उपप्रमुख मेनुका खतिवडाले जानकारी दिनुभयो । उपप्रमुख मेनुका खतिवडाले सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोगमा यस वर्षको सामग्री वितरण कार्यक्रम गरेको बताउनुभयो । उहाँले विशेषगरी हिँडडुल तथा दैनिक कार्यमा कठिनाई भोगिरहेका नागरिकलाई प्रत्यक्ष राहत पुगेको जानकारी दिनुभयो । कार्यक्रममा महिला बालबालिका साखा प्रमुख,करुणा फाउन्डेशन र दुहबी अपाङ्गता समाजको पनि सहभागिता रहेको थियो ।