देवानगञ्ज गाउँपालिका दुई हप्तापछि सुचारु
इनरुवा , साउन २८ गते । कप्तानगञ्ज गोली काण्डपछि साउन ११ गतेदेखी बन्द रहेको सुनसरीको देवानगञ्ज गाउँपालिका दुई हप्तापछि सञ्चालनमा आएको छ । देवानगञ्ज गाउँपालिकाले शोक विदाका लागि बन्द गरेकोमा अवस्था चर्कदै गएको र तीन जनाको मृत्यु भएकाले बढेको तनाव र अन्दोलनका कारणले लामो समय बन्द रहेकोमा विहीबारबाट कार्यालय सञ्चालनमा आएको हो ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सूचना जारी गरेर विहीबार विहानबाट कार्यालय सञ्चालनमा ल्याउनुभएको हो । मेहताले देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा साउन १० गतेका दिन भएको गोली काण्ड घटनाबाट उत्पन्न असहज परिस्थितिका कारण देवानगञ्ज गाउँपालिका, गाउँपालिका अन्तर्गतका कार्यालय तथा संस्थाहरुबाट हुने सेवा प्रवाह बन्द रहेकोमा विहिवारदेखि गाउँ कार्यपालिकाको कार्यालय, शैक्षिक संस्थाहरु तथा वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा नियमित रुपमा सुचारु भएको जानकारी दिनुभयो । उहाँले लामो समयसम्म सेवा प्रवाह अवरुद्धबाट हुन गएको असुविधा प्रति देवानगञ्ज गाउँपालिका क्षमाप्रर्थी रहेको सूचनामा उल्लेख गर्नुभएको छ ।
यसैबीच कप्तानगञ्ज गोली काण्डपछि साउन १० गतेदेखी निरन्तर रुपमा भएको प्रदर्शन र तोडफोडका कारणले फोहोर र कुरुप बनेको सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्ज नयाँ हाटको युवाहरु र सुरक्षाकर्मीले संयुक्त रुपमा सरसफाई गरेको छ । विहीबार विहान अठारौ दिन सरसफाई गरेर हाट बजार खुलेको स्थानीय राकेश यादवले जानकारी दिनुभयो । कप्तानगञ्ज बजार दुई हप्तापछि सञ्चालनमा आएकाले सर्वसधारण किनमेलका लागि आउन थालेको छ । देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको गोली काण्डमा एकजनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा निधन भएको थियो । सात जना गोली लागेर घाईते भएका थिए । सरकारले मृतक सबैलाई शहिद घोषणा गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भएकाले शोकका बिच दुई हप्तापछि विहीबारबाट प्रभावित क्षेत्रमा बजार पसल सञ्चालनमा आएको यादवले जानकारी दिनुभयो ।

कप्तानगञ्ज गोली काण्डपछि साउन ११ गतेदेखी बन्द रहेको सुनसरीको देवानगञ्ज गाउँपालिका दुई हप्तापछि सरसफाई गर्दै सञ्चालनमा ल्याउदै ।
