अनशन १२औँ दिनमा पुग्दा पनि सरकारले संवाद र माग सम्बोधनका लागि पहल नगरेको भन्दै शंकर भण्डारीको ध्यानाकर्षण

काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर विभिन्न माग राख्दै राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले जारी राखेको आमरण अनशनप्रति नेपाली कांग्रेसको सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानले ऐक्यबद्धता जनाएको छ।

महाअभियानका संयोजक शंकर भण्डारीले साउन २५ गते जारी गरेको प्रेस वक्तव्यमार्फत अनशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई तत्काल अनशनरत पक्षसँग संवाद गर्न र जायज मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्।

वक्तव्यमा आमरण अनशन १२औँ दिनमा प्रवेश गरिसक्दा समेत नेपाल सरकारले अनशनरत पक्षसँग संवाद गर्ने तथा जायज मागलाई सम्बोधन गरी अनशन तोडाउनका लागि अहिलेसम्म कुनै प्रयास नगरेको विषय गम्भीर चिन्ताको विषय भएको उल्लेख गरिएको छ। भण्डारीले अनशनरत विनय यादवको जीवन सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।

महाअभियानले सुनसरी घटनामा ज्यान गुमाएका परिवारलाई न्याय, घाइतेहरूको पूर्ण उपचार, घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कानुनी कारबाहीको माग राखेर सुरु भएको आमरण अनशनलाई हल्का रूपमा लिन नहुने जनाएको छ। नागरिकको न्याय र सुरक्षासँग जोडिएको गम्भीर सरोकारका विषयमा सरकारले अनशनरत पक्षसँग यथाशीघ्र संवाद गरी आपसी सहमतिका आधारमा माग सम्बोधन गर्नुपर्ने भण्डारीको भनाइ छ।

वक्तव्यमा “नागरिकको न्याय र सुरक्षासँग जोडिएको यो गम्भीर सरोकारको विषयमा अनशनरत पक्षसँग यथाशीघ्र संवाद गरी आपसी सहमतिमा मागको सम्बोधन गर्न सरकारसँग जोडदार आग्रह” गरिएको छ।

यसैगरी, महाअभियानले सुनसरी घटनाको पृष्ठभूमिमा नेपालको सीमावर्ती क्षेत्रमा हुने अवैध आवतजावत, गैरकानुनी बसोबास एवं सम्भावित साम्प्रदायिक अतिवादी गतिविधि नियन्त्रण गर्न सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेको छ। यस्ता गतिविधिमाथि प्रभावकारी नियन्त्रण कायम गरी मधेशलगायत सीमावर्ती क्षेत्रमा शान्ति र अमनचयन कायम गर्न सरकार गम्भीर बन्नुपर्ने महाअभियानको धारणा छ।

महाअभियानले आमरण अनशनलाई केवल राजनीतिक विरोधका रूपमा नलिई न्याय, नागरिक सुरक्षा र सामाजिक शान्तिसँग सम्बन्धित गम्भीर विषयका रूपमा ग्रहण गर्न सरकारलाई आग्रह गरेको छ। साथै, अनशनरत पक्षसँग सार्थक वार्ता गरी समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

अनशनरत अध्यक्ष विनय यादवको स्वास्थ्यमा थप जोखिम उत्पन्न हुनुअघि नै सरकारले पहल गरी वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने भन्दै महाअभियानले आफ्नो ऐक्यबद्धता स्पष्ट गरेको हो।

“जय नेपाल !” भन्दै जारी गरिएको वक्तव्यमा महाअभियानका संयोजक शंकर भण्डारीले सरकारलाई अनशनप्रति गम्भीर बन्न आग्रह गरेका छन्।