रसुवा बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन, चार जना आए परिवारको सम्पर्कमा
इनरुवा, भदौं १२ गते । भोटेकोशीमा आएको बाढी पहिरोले रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा विभिन्न कामका सिलसिलामा रहेका सुनसरीका १५ जना सम्पर्कविहीन भएका छन् । विभिन्न स्रोतबाट प्राप्त जानकारी तथा तथ्यांक अनुसार उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानाएको छ । प्रशासनका अनुसार हालसम्म सम्पर्कविहीन हुनेमा इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका–४ का मोहन माझी रहेका छन् ।
त्यसैगरी दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–८ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका–११, मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणिकरण राई तथा इटहरी उपमहानगरपालिका–१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक) पनि सम्पर्कविहीन रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रसुवामा रहेका चार जना भने परिवारको सम्पर्कमा आएका छन् । परिवारको सम्पर्कमा आउनेमा रामधुनी नगरपालिका–५ का नवराज ढकाल, देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन् ।
रसुवा तथा आसपासका क्षेत्रमा बाढीपछि ठूलो जनधनको क्षति भएको र विभिन्न स्थानमा सञ्चार तथा आवतजावतमा समस्या रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।
