जयकृष्ण यादव। इनरुवा
इनरुवा , भदौ ११ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मगरटोलका महिलाहरुले पञ्चेबाजा बजाउन थालेका छन् । समाजमा पुरुषले मात्र बजाउने होइन, महिलाले पनि बनाउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै महिलाहरुले पञ्चेबाजा बजाउन थालेका हुन् । आफ्नो सीपलाई अवसरसँग जोड्दै इनरुवाका महिलाहरू पञ्चेबाजा बजाएर आत्मनिर्भर बन्ने यात्रामा अघि बढिरहेका छन् । यो केवल बाजा बजाएको उपलब्धि होइन, महिला सशक्तीकरण, आत्मविश्वास र आफ्नै पहिचान निर्माणको उपलब्धि पनि भएको स्थानीय सिमा राणा मगरले जानकारी दिनुभयो ।
स्थानीय सुमी रामा मगरले भन्नुभयो,“ समाजमा महिलाले चाहे भने हरेक क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्न सक्छन्, भन्ने पक्षमा रहेकोमा त्यसलाई सार्थक गर्न इनरुवा नगरपालिकाले गत वर्ष दिएको पञ्चेबाजा बजाउने तालिमबाट सिकेर समाजमा अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले महिलाहरुले पञ्चेबाजा बजाउन थालेको हो । ”
नेपाल महिला मगर संघमा महिला आवद्ध गराउँदै नयाँ काम गर्नुपर्छ भन्ने उद्देश्यले पञ्चेबाजाको समूह गठन गरेर तालिम लिएर ञ्चेबाजा बजाउन थालेको जनाएको छ । मगरले थप्पुभयो, “सधैँ दलित र त्यसमा पनि पुरुषले मात्रै बजाउँदै आएको पञ्चेबाजा गृहणीले बजाउन सक्छन् भन्ने आँटले बजाउन थालियो, सुरुमा कतिले मानेनन्, कतिले अप्ठेरो माने तर तालिममा सिकेपछि भने समूहको चर्चा हुनथाल्यो ।”