अनिल श्रेष्ठ । ​इनरुवा
नेतृत्वको विरोध र आलोचना गरेर मात्रै पार्टी संगठन सुदृढ र बलियो हुन नसक्ने नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि शंकरनाथ महाजुले बताउनुभएको छ।


​पार्टीभित्र बढ्दै गएको आन्तरिक असन्तुष्टि र गुटबन्दीप्रति लक्षित गर्दै नेता महाजुले संगठन निर्माणमा सबै तहका कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीभित्र मतभेद र छलफल हुनु स्वाभाविक भए पनि केवल नेतृत्वको विरोधलाई मात्र मुख्य एजेण्डा बनाउँदा सांगठनिक संरचना कमजोर हुने धारणा व्यक्त गर्नुभयो।
​”नेतृत्वको निरन्तर विरोधले मात्रै पार्टी बलियो हुँदैन,” महाजुले भन्नुभयो, “पार्टीलाई गतिशील र प्रभावकारी बनाउन संगठन विस्तार, जनताका समस्या समाधानमा सक्रियता र पार्टीको नीति तथा विचारलाई तल्लो तहसम्म पुर्‍याउनु आजको मुख्य आवश्यकता हो।”
​उहाँले आगामी दिनमा पार्टीका आन्तरिक विवादलाई घरभित्रै छलफल गरी समाधान गर्दै र आगामी चुनाव तथा राजनीतिक चुनौतीहरू सामना गर्न सिंगो पार्टी प पंक्ति एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो। संगठन सुदृढीकरणका लागि रचनात्मक सुझाव, सहकार्य र अनुशासन अनिवार्य रहेको उहाँको भनाइ थियो।