उपभोक्ता मञ्च नेपाल, इनरुवा नगर कार्यसमिति सुनसरीले इनरुवा नगरपालिकामा तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न माग गरेको छ।

मञ्चले सोमबार इनरुवा नगरपालिकाकी उपप्रमुख विनिता मेहतालाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेको हो।

ज्ञापनपत्रमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा महत्वपूर्ण व्यापारिक केन्द्र भएकाले यहाँ तरकारी तथा फलफूलको कारोबार र बिक्री–वितरण व्यापक रूपमा हुने उल्लेख गरिएको छ। बजारमा बिक्री हुने कृषि उपजमा विषादीको मात्रा निर्धारित मापदण्डभन्दा बढी भए–नभएको परीक्षण गर्ने व्यवस्था आवश्यक रहेको मञ्चको भनाइ छ।

मञ्चले तरकारी तथा फलफूलमा विषादीको अनुचित प्रयोग वा निर्धारित मापदण्डभन्दा बढी विषादीको अवशेष रहँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै नियमित परीक्षण, अनुगमन तथा नियन्त्रणको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

ज्ञापनपत्रमार्फत मञ्चले इनरुवा नगरपालिकामा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्न आवश्यक बजेट तथा जनशक्तिको व्यवस्था गर्न, कृषि उपज बिक्री हुने बजार तथा पसलबाट नियमित नमुना सङ्कलन गरी परीक्षण गर्ने व्यवस्था मिलाउन र मापदण्डविपरीतका कृषि उपजको बिक्री–वितरण नियन्त्रण गर्न माग गरेको छ।

त्यसैगरी, प्रयोगशाला स्थापना नहुँदासम्म वैकल्पिक परीक्षण सेवा उपलब्ध गराई उपभोक्तालाई परीक्षणको नतिजाबारे जानकारी दिने व्यवस्था मिलाउन पनि मञ्चले आग्रह गरेको छ।

उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य गुणस्तर कायम तथा सुरक्षित कृषि उपजको उपभोग सुनिश्चित गर्न स्थानीय सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै मञ्चले ज्ञापनपत्रमा उठाइएका मागलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्न आग्रह गरेको छ।उपभोक्ता मञ्च नेपाल, इनरुवा अध्यक्ष शंकरनाथ महाजु , सतिव रोशन यादव , कोषाध्यक्ष अख्तर खान र सदस्य मुन्ना सिहंको उपस्थिति रहेको थियो ।