पुजा बहार
विराटनगर । भोजपुरी समाज नेपाल, विराटनगरको आयोजनामा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसहित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
२०८३ साल कात्तिक १४ गते शनिबार विराटनगर–९ स्थित श्री जानकी सेवासदनमा आयोजित कार्यक्रममा मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिल कुमार साह तथा कलवार कल्याण महासंघ नेपालका अध्यक्ष एवं अधिवक्ता पुनम कुमार गुप्तालाई सम्मान गरिएको थियो।


कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै भोजपुरी भाषा, कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य प्रस्तुत गर्दै पूजा बहारले सहभागी अतिथि तथा उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। त्यसैगरी, कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै उमेश कुमार भगतले भोजपुरी भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले भोजपुरी भाषा नेपालको महत्त्वपूर्ण भाषिक पहिचान भएको उल्लेख गर्दै कोशी प्रदेशमा यस भाषालाई सरकारी कामकाजको भाषाका रूपमा अगाडि बढाउन नसकिएको विषयमा चिन्ता व्यक्त गरेका थिए।


वक्ता संजय सिंह, राजेश गुप्ता, राजेन्द्र गुप्ता, वडा अध्यक्ष विश्वनाथ भगत, कुशेश्वर राईलगायतले भोजपुरी भाषाको संरक्षण, प्रवर्द्धन तथा सरकारी कामकाजमा यसको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले भाषा र संस्कृतिको संरक्षणले समुदायको पहिचानलाई बलियो बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा भोजपुरी भाषाका गीत, नृत्य तथा कवितालगायतका सांस्कृतिक प्रस्तुतिहरू आकर्षणका रूपमा रहेका थिए। सांस्कृतिक प्रस्तुतिले भोजपुरी भाषाको मौलिकता, सांस्कृतिक विविधता र सामाजिक सद्भावको सन्देश प्रवाह गरेको थियो।


वरिष्ठ समाजसेवी सियाराम प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।