परम्परागत हानिकारक अभ्यासले महिलाको जीवन र अधिकारमा गम्भीर असर गरेको गुनासो

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १३ गते । सुनसरीको कोशी गाउँपालिका–७, हरिपुरका स्थानीयहरुले परम्परागत हानिकारक अभ्यासले महिलाको जीवन र अधिकारमा गम्भीर असर परेको गुनासो गरेका छन् । सामाजिक परिर्वतन केन्द्र काठमाण्डौको आयोजनामा हरिपुरमा सम्पन्न भएको “परम्परागत हानिकारक अभ्यास र मूल्यमान्यताले महिलालाई पारेको असर” विषयक नागरिक संवाद कार्यक्रममा महिलाहरुले सो गुनासो गरेका हुन् । सम्पन्न भएको कार्यक्रममा अधिकारकर्मी चन्द्रकला नेपालले पुरातन सोच र संस्कारका कारणले महिलाहरु घरेलु हिंसाको सिकार बनेको, बालबालिकाहरु बालविवाहको सिकार र समुदाय लागु औषधको मारमा परेको गुनासो गर्नुभयो । नेपालले विगतका केही कुप्रथा र कुसंस्कारले सबै भन्दा बढी महिला र बालबालिकाहरु प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ महिला पीडित हुने दुई कारण एकातर्फ परम्परागत हानिकारक अभ्यास, अर्कोतर्फ मुख्य जड नै रक्सी र लागूऔषधको दुव्र्यसन बनेको छ । मदिरा सेवनका कारण दिनहुँ हुने झगडाले बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पारिरहेको छ । गाउँमा रक्सीको अवैध बिक्री–वितरणमा तत्काल रोक लगाउनुपर्छ। ”
आयोजक संस्थाका रमेश भट्टराईका अनुसार शान्तिपूर्ण तथा जलवायु–मैत्री शासन प्रणालीका लागि नागरिक संलग्नता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले परम्परागत हानिकारक अभ्यासले महिला तथा बालबालिकाहको जीवन र उनीहरुको अधिकारमा गम्भीर असर परेको गुनासो गर्नुभएको जानकारी दिनुभयो । सम्पन्न भएको संवादमा कोशी गाउँपालिका वडा नं. ७ का स्थानीय नागरिक, महिला प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूले समाजमा अझै पनि विद्यमान बोक्सी प्रथा, बालविवाह, महिनावारीसम्बन्धी विभेद, दाइजो लगायतका हानिकारक परम्परागत अभ्यासहरूले महिलाको शारीरिक, मानसिक, संवेगात्मक, आर्थिक, राजनीतिक र सामाजिक विकासमा गम्भीर असर पारिरहेको बताएका छन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै कोशी ७ की वडा महिला सस्दय प्रतिनिधि किसनी देवी भुजेलले भन्नुभयो, “हाम्रो समाजमा युगौँदेखि चलिआएका अन्धविश्वास र कुरीतिहरूले गर्दा महिलाहरूले अझै पनि हिंसा र असमानता भोग्नुपरिरहेको छ । यस्ता हानिकारक अभ्यासहरूलाई हटाउन चेतना फैलाउनुका साथै स्थानीय तहबाटै कडा नीति र पहल कदम आवश्यक छ । ”
त्यसैगरी, सहभागी कौशिला भुजेल, मायावती राई, अमला देवी राई, आशा देवी मण्डल, सिता देवी सदा, रम्भा देवी मलाह, चम्पा देवी सरदार, इनरवती देवी मण्डल, र विमला देवी सदा लगायतले आफ्ना अनुभव र विचार साझा गर्नुभएको थियो । उहाँहरूले परम्परा र संस्कृतिका नाममा महिलामाथि हुने विभेद र कुप्रथाहरू अन्त्य गर्न परिवार र समुदायस्तरमै संवाद तथा जागरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
सहभागी आशा देवी मण्डलले बालबालिकालाई गैरकानुनी काम र तस्करीबाट जोगाउन विद्यालय तथा समुदाय स्तरमा व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । कुप्रथाबाट जोगाउन र कुलतबाट बचाउन बालबालिकालाई कुलतबाट टाढा राखेर सकारात्मक दिशामा अघि बढाउन सबैको साझा कर्तव्य हुनुपर्नेमा जोड दिनुभयो । महिलाअधिकारकर्मी सिता देवी सदाका अनुसार कोशीको दलित बस्तीको हरेक घरमा हुने रक्सीको असरले गर्दा महिलाहरूले शारीरिक र मानसिक हिंसा सहनुपरेको छ । घरेलु हिंसा अन्त्य गर्नका लागि मदिरा नियन्त्रण र लागूऔषधविरुद्धको अभियानलाई टोल–टोलमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक परिर्वतन केन्द्रले जलवायु परिवर्तन र शान्तिपूर्ण सुशासनका मुद्दाहरूसँगै समाजमा विद्यमान विभेदकारी मूल्यमान्यता विरुद्ध नागरिकहरूलाई सुसूचित गराउन र स्थानीय निकायलाई जवाफदेही बनाउन विभिन्न संवाद कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा सम्पन्न भएको “परम्परागत हानिकारक अभ्यास र मूल्यमान्यताले महिलालाई पारेको असर” विषयक नागरिक संवाद कार्यक्रममा महिलाहरुको भनाई जस्ताको तस्तै ः

कार्यक्रममा सहभागीहरूले व्यक्त गरेका मुख्य भनाइहरू ः
१, सिर्जना मण्डल (कोशी–७)ः हाम्रो समाजमा अझै पनि बालविवाहको समस्या कायम छ । कलिलै उमेरमा विवाह गरिदिँदा बालबालिकाको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
२, गुञ्जादेवी शर्मा (कोशी–७)ः हेर्नुस हाम्रो समाजमा दाइजो प्रथाका कारण धेरै महिलाहरू हिंसा सहन बाध्य छन् । दाइजो नल्याएको वा कम ल्याएको निहुँमा घरभित्रै महिलामाथि हुने शारीरिक र मानसिक यातना अन्त्य हुन जरुरी छ । तर खोई कसैले ध्यान दिएको छैन् ।
३, नन्सरी देवी साफी (कोशी–७)ः हाम्रो समुदाय खास गरेर तराई–मधेश क्षेत्रमा अझै पनि गौना प्रथाको नाममा उमेर नपुगी बालिकालाई पठाउने परम्परा हरिपुरमा पनि कायम छ । यसले गर्दा किशोरीहरूको भविष्य र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ ।
४, विभा कुमारी साफी (कोशी–७)ः अहिले पनि दलित बस्तीमा बोक्सीको आरोप लगाएर एकल तथा कमजोर महिलाहरूमाथि गरिने अमानवीय व्यवहार भइरहेको छ । यो समाजको ठूलो कलंक हो तर कानुनी कार्वाही छैन । म भन्छु यस्ता अन्धविश्वास विरुद्ध स्थानीय स्तरमै सचेतना फैलाउनुपर्छ ।
५, शान्ति देवी महतो (कोशी–७)ः हाम्रो कोशी क्षेत्रमा त पछिल्लो समय युवापुस्ता र बालबालिकाहरू लागूऔषध दुव्र्यसनमा फस्दै गएका छन्, जसले गर्दा पारिवारिक अशान्ति र लैङ्गिक हिंसाका घटनाहरू अझ बढेका छन् , एकातर्फ पुरानो संस्कार र अर्को तर्फ नयाँ रकसी र लागु औषध संस्कार छ । के भन्नु के गर्नु ?
६, चन्दा मेहता(कोशी–७)ः ः कोशीमा मधेसी र दलित समुदायको बसोबास छ, यहाँ परम्परागत हानिकारक अभ्यासहरूले महिलाको सशक्तीकरणमा ठूलो बाधा पु¥याएका छन् । हाम्रोमा जबसम्म यी कुरीतिहरू हट्दैनन्, तबसम्म महिला र बालबालिकाको अधिकार सुरक्षित हुन सक्दैन।
७, चण्डिका मुसहर (कोशी ७) ःहाम्रो समाजमा अझै पनि कतिपय ठाउँमा बुहारीहरु घुम्टोभित्र बस्नुपर्ने विभेदकारी अभ्यासका कारण महिलाहरू अमानवीय परिस्थिति भोग्न बाध्य छन् । यसलाई पूर्ण रूपमा रोक्न कानुनी कडाइ आवश्यक छ ।
८, कौशल्या देवी थापा (महिला स्वयंसेविका) (कोशी–७)ः हामी एउटा तहका महिलाहरु सक्षम छौं तर गाउँमा मधेसी र दलित महिलाको स्वास्थ्य र शिक्षाको पहुँच छैन् । महिला तथा बालबालिका शिक्षाबाट वञ्चित हुनुको मुख्य कारण नै समाजमा व्याप्त परम्परागत कुसंस्कार हो । स्वास्थ्य स्वयंसेविकाको तर्फबाट हामी निरन्तर जनचेतना जगाउने काममा छौँ ।
९, शर्मिला चौलागाईं (कोशी–७)ः सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्नका लागि युवा र किशोर–किशोरीहरूलाई नै सचेत बनाउनुपर्छ मेरो बिचारमा । बालबालिकालाई विभेदमुक्त वातावरणमा हुर्कन दिनु हामी सबैको दायित्व हो भन्ने तर व्यवहारमा नउतार्ने अवस्था कायम छ ।
१०, सङ्गीता देवी गुप्ता (कोशी–७)ः हाम्रो समाजमा हुने कुनै पनि प्रकारको हानिकारक अभ्यासविरुद्ध महिलाहरू आफैँ एकबद्ध भएर आवाज उठाउनुपर्छ जस्तो लाग्न थालेको छ मलाई किनभने मौन बस्नाले विकृति अझ पन्पिने मौका पाउँछ कि ।
लिलो देवी सदाः
११. मिना कुमारी यादव (शिक्षक) ः “शिक्षा नै चेतनाको मुख्य आधार हो । जबसम्म हाम्रा बालबालिकालाई विद्यालयस्तरमै लैङ्गिक समानता र आफ्ना अधिकारबारे सिकाउन सक्दैनौँ, तबसम्म समाजबाट बोक्सी, दाइजो र बालविवाह जस्ता कुप्रथा हट्न सक्दैनन् । शिक्षकको नाताले म आफ्ना विद्यार्थीहरूलाई हिंसाविरुद्ध बोल्न र सचेत बन्न सधैँ प्रेरित गर्नेछु । ”
१२. विमला देवी यादव (कोशी – ७)ः हाम्रो समाजमा अझै पनि घरेलु हिंसालाई घरभित्रकै मामिला ठानेर चुपचाप सहने गरिन्छ । तर हिंसा सहनु पनि अपराध हो । महिलाहरू आर्थिक र सामाजिक रूपमा सचेत बनेर यस्ता थिचोमिचोविरुद्ध एकजुट भई आवाज उठाउनै पर्छ । विपन्न र पछाडि पारिएका समुदायका महिला तथा बालबालिका यस्ता हानिकारक अभ्यासबाट झनै बढी प्रभावित हुने गरेका छन् । त्यसैले लक्षित वर्गसम्म चेतनामूलक कार्यक्रम पु¥याउनुपर्छ । विपन्न र पछाडि पारिएका समुदायका महिला तथा बालबालिका यस्ता हानिकारक अभ्यासबाट झनै बढी प्रभावित हुने गरेका छन्। त्यसैले लक्षित वर्गसम्म चेतनामूलक कार्यक्रम पु¥याउनुपर्छ ।
१३. चन्द्रिका सदा (शिव गुरु महिला सहकारी ) ः दलित तथा पिछडिएका समुदायका महिलाहरू झनै बढी हिंसा र विभेदको जोखिममा छन् । महिला समूह र सञ्जालहरूमार्फत संगठित भई हामीले आफ्ना अधिकारका लागि लड्नुपर्छ । कुनै पनि महिलामाथि हुने अन्यायविरुद्ध सिङ्गो बस्ती नै एकजुट भएर प्रतिवाद गर्नुपर्छ ।
१४. देवकुमारी सदा (कोशी – ७) ः दाइजो प्रथाले गर्दा हाम्रा छोरी–बहिनीहरूले विवाहपछि पनि मानसिक र शारीरिक यातना भोग्नु परेको छ। दाइजो नल्याएकै कारण हिंसा गर्ने र छोरीलाई बोझ ठान्ने गलत मानसिकतालाई हामीले आफ्नै घर–छिमेकबाट अन्त्य गर्नुपर्छ।
१५. सिता पौडेल (कोशी – ८) ः घरभित्र हुने घरेलु हिंसा नै सबै प्रकारका हिंसाको जननी हो। महिलामाथि हुने विभेद र कुटपिटलाई सामान्य मान्ने परिपाटी बन्द हुनुपर्छ। शान्त र सुरक्षित समाज निर्माणका लागि पहिले हरेक घर हिंसाभुक्त हुनु जरुरी छ ।
१६. खटरी देवी सदा (कोशी – ८) ः बालविवाहले छोरीहरूको भविष्य, शिक्षा र स्वास्थ्य तीनवटै कुरा बर्बाद बनाउँछ। उमेर नपुगी छोरीको विवाह गरिदिने परम्परागत सोचलाई हामीले बदलेर उनीहरूलाई पढाउने र आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्छ ।
१८. बिना देवी सदा (कोशी – ७) ः हाम्रोमा अज्ञानता र गरिबीका कारण धेरै महिलाहरूले आफूमाथि भएको हिंसा पहिचान गर्नै सक्दैनन् । समाजमा महिला हिंसा र बाल हिंसाविरुद्ध निरन्तर सचेतना कार्यक्रमहरू चलाई सबैलाई सचेत गराउनु अत्यावश्यक छ । मेरो यही छ सुझाव ।
१९. दुलारी देवी सदा (कोशी – ७) ः छोरीलाई सानैमा विवाह गराइदिने र दाइजोको नाममा बार्गेनिङ गर्ने प्रथा समाजको ठूलो अभिशाप हो हाम्रो समाजमा तर सुन्ने कोही भएन् । हामी आमाहरू नै जुर्मुराएर आफ्ना छोरीहरूलाई उमेर नपुगी विवाह नगराउने र दाइजो नलिन–नदिन दृढ हुनुपर्छ ।
२०. देव कुमारी सदा (कोशी – ७) ः बालबालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाले उनीहरूको मानसिक विकासमा गम्भीर असर पार्छ । बालबालिकालाई हिंसायुक्त वातावरणबाट जोगाएर सुरक्षित र स्नेही वातावरणमा हुर्कने अधिकार सुनिश्चित गरिनुपर्छ ।
२१. सुजान देवी सदा (कोशी –७) ः हिंसाविरुद्ध चुप लागेर बस्दा हिंसा गर्नेहरूको मनोबल अझै बढ्छ। त्यसैले हिंसा भयो भने लुकाउने होइन, प्रहरी र स्थानीय निकायसम्म पुगेर कानुनी उपचार खोज्नुपर्छ भन्ने सन्देश हामीले फैलाउनुपर्छ ।
२२. जसोधा देवी मण्डल (कोशी –७) ः महिला हिंसा र दाइजो प्रथा उन्मूलन गर्नका लागि महिला र पुरुष दुवैको समान सहभागिता चाहिन्छ । सामाजिक परिवर्तनका लागि पुरुषहरूलाई पनि यस्ता चेतनामूलक अभियानमा जोडेर हिंसा रहित समाज निर्माणमा लाग्नुपर्छ , यही छ मेरो सुझाव ।
२३. निसनी देवी भुजेल (महिला वडा प्रतिनिधि, कोशी–७) ः हेर्नुस सर “हाम्रो सीमावर्ती क्षेत्रमा बालबालिकालाई तस्करी र लागूऔषध ओसारपसारमा प्रयोग गरिनु अत्यन्तै चिन्ताजनक विषय हो । स्थानीय प्रतिनिधि हुनुको नाताले म सम्पूर्ण अभिभावक र प्रशासनलाई सतर्क रहन आग्रह गर्दछु। लागूऔषध र मदिराको रोकथामका लागि नागरिक तहबाटै सचेतना अभियान चलाउनु आजको मुख्य आवश्यकता हो ।”
२४. कौशिला भुजेल (कोशी–७)ः “घरघरमा हुने मदिराको अनियन्त्रित बिक्री र प्रयोगले गर्दा आज कैयौँ परिवारमा घरेलु हिंसा बढेको छ । रक्सीको लतले गर्दा शान्त वातावरण खलबलिएको छ र महिलाहरू सबैभन्दा बढी पीडित हुनुपरेको छ। यसलाई नियन्त्रण गर्न गाउँस्तरमै कडाइ गरिनुपर्छ। ”
२५. मायावती राई (कोशी–६) ः “लागूऔषध र मदिराको दुव्र्यसनले गर्दा हाम्रा युवा तथा बालबालिकाको भविष्य जोखिममा परेको छ। यसको सोझो असर घरपरिवार र समाजमा परेको छ। दुव्र्यसनमुक्त समाज निर्माणका लागि हामी सबै महिलाहरू एक भएर घरेलु हिंसा र कुलतविरुद्ध लाग्नुपर्छ । ”
२६. रम्भा देवी मलाह (कोशी–७)ः “घरेलु हिंसाको मुख्य जड नै रक्सी र लागूऔषधको दुव्र्यसन बनेको छ। मदिरा सेवनका कारण दिनहुँ हुने झगडाले बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पारिरहेको छ। गाउँमा रक्सीको अवैध बिक्री–वितरणमा तत्काल रोक लगाउनुपर्छ। ”
२७. अमला देवी राई (कोशी–७)ः “सीमावर्ती क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर चलाउन सकियो भने मात्र लागूऔषधको ओसारपसार र बालबालिकाको दुरुपयोग रोक्न सकिन्छ। हामीले आफ्ना बालबालिकालाई सकारात्मक बाटोमा हिँडाउन घरैबाट राम्रो संस्कार र सचेतना दिनु आवश्यक छ। ”
२८. चम्पा देवी सरदार (कोशी–७)ः “रक्सी र लागूऔषधको अत्यधिक प्रयोगका कारण समाजमा अपराध र घरेलु हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। जबसम्म हामीले स्थानीय स्तरमा मदिरा बिक्री–वितरणलाई व्यवस्थित र कडाइ गर्दैनौँ, तबसम्म महिला र बालबालिका सुरक्षित हुन सक्दैनन्। ”
२९. इनरवती देवी मण्डल (कोशी–७)ः “लागूऔषध दुव्र्यसनको असर सिधै घरको आर्थिक र सामाजिक अवस्थामा पर्छ। कुलतमा फसेका कारण कतिपय घरपरिवार तहसनहस भएका छन्। यो समस्या समाधानका लागि स्थानीय प्रशासन र नागरिक समाजको संयुक्त पहल आवश्यक छ। ”
३०. आशा देवी मण्डल (कोशी–७)ः “हाम्रा बालबालिकालाई गैरकानुनी काम र तस्करीबाट जोगाउन विद्यालय तथा समुदाय स्तरमा व्यापक जनचेतना फैलाउनुपर्छ । बालबालिकालाई कुलतबाट टाढा राखेर सकारात्मक दिशामा अघि बढाउनु हामी सबैको साझा कर्तव्य हो । ”
३१. सिता देवी सदा (कोशी–७)ः “हरेक घरमा हुने रक्सीको असरले गर्दा महिलाहरूले शारीरिक र मानसिक हिंसा सहनुपरेको छ। घरेलु हिंसा अन्त्य गर्नका लागि मदिरा नियन्त्रण र लागूऔषधविरुद्धको अभियानलाई टोल–टोलमा पु¥याउनुपर्छ । ”
३२. विमला देवी सदा (कोशी–७)ः “हामी सबै सहभागीहरूले सीमापार हुने लागूऔषध तस्करी र गाउँमा हुने मदिराको दुरुपयोगविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्छ । सकारात्मक सन्देश र सचेतनाका माध्यमबाट मात्रै हाम्रो समाजलाई हिंसामुक्त र सुरक्षित बनाउन सकिन्छ । ”
