बरहक्षेत्र ११ मा माग, वडा अध्यक्ष महतोले छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाए
सुनसरी, २०८३ असोज १० गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ११ स्थित वडा कार्यालयमा विभिन्न विकास निर्माणका गतिविधि तथा बजेट विनियोजनसम्बन्धी सूचना माग गर्दै औपचारिक रूपमा निवेदन दर्ता गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी (ने.क.पा.) बराहक्षेत्र न.पा. ११ वडा कमिटी परिवार, मधुवन, सुनसरीको तर्फबाट सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम उक्त निवेदन दर्ता गराइएको हो।
निवेदन दर्ताका अवसरमा पार्टीका तर्फबाट महेन्द्र खत्वे लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। स्थानीय नागरिकको हैसियतले वडामा भइरहेका विकास निर्माणका गतिविधि, बजेट विनियोजन र खर्चको पारदर्शी अवस्थाबारे जानकारी लिनका लागि आर्थिक वर्ष २०७९/०८० देखि २०८३/०८४ सम्मको ५ वर्षको अवधिमा भएको कुल विकास बजेटको विवरण तथा स्वीकृत योजनाहरूको खर्च र प्रगति विवरण माग गरिएको छ।

निवेदनमा माग गरिएका मुख्य विषयहरू:
- वडा कार्यालयका लागि उल्लेखित आर्थिक वर्षहरूको कुल विकास बजेटको विवरण।
- वडाभित्र सञ्चालन भएका वा स्वीकृत साना तथा ठूला विकास आयोजना तथा योजनाहरूको नामावली।
- ती योजनाहरूको बजेट उपशीर्षक, स्वीकृत रकम, हालसम्म भएको खर्च तथा कार्यप्रगति विवरण।
- उपभोक्ता समिति वा ठेक्का प्रक्रियामार्फत भएका कामहरूको संक्षिप्त अभिलेख।

यता, पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा सूचना माग गर्दै निवेदन दर्ता भएपछि वडा अध्यक्ष कृष्ण कुमार महतोले कानुनबमोजिम माग गरिएका सम्पूर्ण सूचनाहरू पारदर्शिताका साथ छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
