जयकृष्ण यादव । इनरुवा
इनरुवा,कार्तिक ११ गते । मोरङको विराटनगर महानगरपालिका–६ मा चोरीको आरोपलाई लिएर भएको विवाद भएपछि ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले पत्रकार सम्मेलन गरेर हत्या घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक मल्लका अनुसार भारतको वाराणसी स्थायी घर भएका लालजीप्रसाद गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएकोमा कार्तिक ६ गते हत्या भएकोमा मंगलबार तीन जना आरोपितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–६ स्वागतम चोकका ३६ वर्षीय अफरोज आलमसहित १३ वर्षीय भारतीय नाबालक र १६ वर्षीय नेपाली नाबालक रहेका छन् । विराटनगर महानगरपालिका–६ स्थित स्वागतम चोक क्षेत्रमा बसोबास गर्दै आएका गुप्ताले आलममाथि मोटर चोरीको आरोप लगाएकाले मानहानी भएको भन्दै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विराटनगर महानगरपालिका–६ मा रहेको माता इलेक्ट्रिक वर्कसपबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोपलाई लिएर मृतक गुप्ता र अफरोज आलमबीच विवाद भएको थियो । सोही विवादका क्रममा गुप्ताले गाउँभरी हल्ला फैलाएपछि विवाद चर्किएको र गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरीको प्रेस नोट विवरणमा उल्लेख छ । घटनाबारे स्थानीयबाट जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको सुरक्षा गर्दै तालिमप्राप्त कुकुर र विज्ञ टोली समेत परिचालन गरी आवश्यक प्रमाण संकलन गरेको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–६ स्वागतम चोकका ३६ वर्षीय अफरोज आलमसहित १३ वर्षीय भारतीय नाबालक र १६ वर्षीय नेपाली नाबालकलाई नियन्त्रणमा लिएको विवरणमा उल्लेख छ । नाबालकहरूको नाम सार्वजनिक गरिएको छैन् ।
घटनासँग सम्बन्धित प्रमाणका रूपमा प्रहरीले हत्या गर्न प्रयोग गरिएको भनिएको जिआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको जनाएको छ । प्रहरीले घटनाको कारण, घटनामा प्रत्येक व्यक्तिको भूमिका तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


१, जिल्ला प्रहरी कार्यालय सुनसरीले हत्याको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा