काठमाण्डाै – बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले  सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढी  र पहिरोका कारण विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ । बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, त कतै दूषित हुने सम्भावना रहन्छ । दूषित पानी पिउँदा विभिन्न  रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभएको छ । 

उहाँका अनुसार बाढी र पहिरोपछि पानीजन्य प्रकोप देखिन सक्छ ।  त्यसको केही समयपछि किटजन्य प्रकोप पनि देखिन थाल्छ । पानीजन्य प्रकोप भन्नाले झाडापखाला, टाइफाइड, खानाजन्य भन्नाले हैजा र किटजन्य भन्नाले लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगहरु डेङ्गी तथा कालाजार लगायतका रोग भन्ने बुझिन्छ । 

‘बाढी, पहिरो लगायतका जोखिमपछि मानिसहरु विस्थापित भएर एकै  ठाउँमा बस्नुपर्ने बाध्यता हुन्छ । धेरै मानिस एकैठाउँमा बस्नुपर्दा सरसफाइको कमी हुन्छ । अहिले कोरोना भाइरसको सङ्क्रमण पनि गाउँ-गाउँमा पुगेको छ । धेरै मानिस एकै ठाउँमा बस्दा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम पनि उत्तिक्कै हुन्छ’ डाक्टर पुनले भन्नुभयो । दीर्घकालीन रुपमा मानसिक समस्या हुने, चोटपटकका कारण लामो समयसम्म समस्या हुन सक्छ । 

रोग छिट्टै फैलने जोखिम

हरेक वर्ष बाढी र पहिरोका कारण लाखौँ मानिस प्रभावित हुने गरेका छन् । जनधनको नोक्सानी पनि भएको हुन्छ । उनीहरुलाई सामूहिक रुपमा बासस्थानको व्यवस्था गर्दा रोग सर्ने जोखिम पनि उत्तिकै हुन्छ । अहिले त झनै कोरोना भाइरसको महामारीको कारण धेरै समस्या हुने डाक्टर पुन बताउनुहुन्छ । एउटै चर्पीको प्रयोग गर्दा, सामूहिक रुपमा खाना खाँदा र बस्दा कोरोनाको सङ्क्रमणसँगै अन्य रोगको समेत जोखिम हुन्छ ।

बाढी र पहिरोजस्ता विपत्तिका कारण धेरै मानिस विस्थापित भएर स्कुल, मन्दिर, चौर आदि ठाउँहरुमा बसिरहेका छन्  । यो सङ्ख्या बढ्दै गयो भने अस्थायी टहरा वा क्याम्प बनाएर पनि राख्नुपर्ने अवस्था आउन सक्छ । ती ठाउँमा कसैलाई कुनै सङ्क्रामक रोग देखियो भने धेरै जनामा छिटै सर्न सक्छ । त्यस्ता ठाउँमा शुद्ध खानेपानी, शौचालय, फोहर व्यवस्थापनलगायत सरसफाइमा ध्यान दिन नसकिएको हुन सक्छ । फेरि पानी जम्ने  खाल्डोहरुमा लामखुट्टे बस्ने हुँदा त्यसको टोकाइबाट पनि विभिन्न रोग सर्ने जोखिम हुन सक्छ ।  

दीर्घकालीन समस्या 

बाढी पहिरोका कारण जनधनको नोक्सानी भएपछि मानिसहरु तनावमा हुन्छन् ।  जसका कारण उनीहरुले खानपान  र सरसफाइमा त्यति ध्यान दिन सक्दैनन् । त्यस्तो  अवस्थामा सरकार र सरोकारवाला निकायले उचित खानपान र सरसफाइमा ध्यान दिन जरुरी हुन्छ । बाढी र पहिरो प्रभावितहरुको बस्ने र खाने व्यवस्था सुरक्षित तरिकाले गर्नुपर्ने हुन्छ ।  सफा पानीको उपलब्धता, शौचालयको व्यवस्थापन गरिनुपर्छ ।  गर्भवती, सुत्केरी, जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ ।  

अमेरिका लगायतका कतिपय देशहरुमा गरिएको अध्ययनमा बाढी र पहिरोपछि विभिन्न मानसिक समस्याहरु देखिएपछि प्रभावितहरुलाई काउन्सिलिङहरु गरिएको थियो । नेपालमा पनि बाढी र पहिरो प्रभावितहरुमा  मानसिक तनावहरु हुन सक्छन् । विभिन्न खालका चोटपटक लाग्ने सम्भावना पनि उत्तिक्कै हुने गर्छ । 

बच्ने उपाय

यस्ता विभिन्न रोगको प्रकोपबाट बच्नको लागि विभिन्न सावधानीका उपाय अपनाउनुपर्ने हुन्छ । जस्तै अस्थायी चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, अस्थायी बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिनुपर्छ । साथै हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी, साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खाल्डा पुर्ने, सम्भव भएसम्म झुल लगाउने वा पूरा शरीर ढाक्ने कपडा लगाउने उपाय अपनाउन सकेमा यस्ता समस्याबाट बच्न सकिन्छ ।