जयकृष्ण यादव । इनरुवा
इनरुवा, कात्तिक २८ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम प्रभावकारी र नमूना भएको भन्दै नेदरल्याण्ड र बंगलादेशी टोलीले प्रशंसा गरेको छ ।
कोशीमा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको त्रिपक्षीय लगानी साझेदारीमा सञ्चालित परियोजना अन्तर्गतका अपाङ्गताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै फ्रेण्डसीप नेदरल्याण्ड नामक अन्तराष्टिय गैरसरकारी संस्थाका उच्चस्तरीय पदाधिकारीले गाउँपालिकाको स्थलगत भ्रमणका क्रममा प्रशंसा गरेको हो ।
फ्रेण्डशीप नेदरल्याण्डका निर्देशक मेम बेटेके र सहायक निर्देशक तोफिक लगायतको ६ सदस्य टोलिले कोशी गाउँपालिकाको स्थलगत भ्रमण गर्नुभएको थियो । सोही क्रममा निर्देशक बेटेकेलाई कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले स्वागत गर्नुभएको थियो ।


कार्यक्रमका फोकल पर्सन राजकिशोर मेहताले परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापबाट पालिका क्षेत्रमा हालसम्म हाँसिल भएका उपलब्धि र सामना गर्नुपरेको चुनौति समेटिएको प्रस्तुतिकरण गर्नुभयो ।
कोशी गाउँपालिकामा कूल ५६० जना अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा पुर्नस्थापना अन्तर्गत सहायक सामाग्री वितरण र उपचारका क्षेत्रमा काम भएको मेहताले जानकारी दिनुभयो । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुको ८ वटै वडामा मिलिजुलि समूह गठन गरी ५० रुपियाँ हजारका दरले बिउ पूँजि दिएर परिचालन गरिएको छ । गत आर्थिक वर्षमा ३२ जना अपाङ्गता भएका व्यक्ति वा निजका अभिभावकलाई शीपमुलक तालिम समेत दिएको बताउनुभयोे ।
रोकथाम अन्तर्गत अपाङ्गता भएका बच्चा जन्मिन नदिन नव दम्पति तथा गर्भवति महिलालाई लक्षित गरी सावधानीका उपायहरु अपनाउने जनचेतना जगाउने, फोलिक एसिड खुवाएर जोखिम न्युनिकरण गर्ने काम समेत भएको मेहताको भनाई छ ।
शिशुको जन्मदोष परीक्षण गरी गत वर्ष आठ जना बच्चालाई उपचार गरी अपाङ्गता हुनबाट जोगाइएको जनाएको छ । करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटा सहितको भ्रमण टोलिले कार्यक्रमबाट उपचार सहयोग पाई अपाङ्गता हुनबाट जोगिएका कोशी वडा नं.– ३ का बच्चा खुशि साहको घरमा गई अवस्था बुझ्नुभएका थियो । भ्रमण टोलिले सामुदायिक स्वास्थ्य इकाई कोशी २, कोशी टप्पु मिलिजुली समूह कोशी– ३ को भ्रमण गरेको थियो । मिलिजुली समूहमा भ्रमण गर्दा ३० जना भन्दा बढि अपाङ्गता भएका व्यक्ति तथा अभिभावकले कार्यक्रमबाट कोशीमा अपाङ्गताको क्षेत्रमा धेरै जागरण आएको भन्दै कार्यक्रम निरन्तरताको लागि पालिका पदाधिकारीसँग माग गर्नुभएको थियो । भ्रमणबारे प्रतिकृया दिदै मेम बेटेके र सहायक निर्देशक तोफिकले आफूहरुले अपाङ्गताको क्षेत्रमा आफ्नो देशमा काम गर्न गइरहेको हुँदा नमुना हेर्न आएको बताउनुभयो । अपाङ्गताको क्षेत्रमा काम गर्न निकै चुनौती रहेपनि पालिकाले गरेको कामप्रति मेम बेटेकेले प्रशंसा गर्नुभयो ।
१, फ्रेण्डशीप नेदरल्याण्डका निर्देशक मेम बेटेके र सहायक निर्देशक तोफिक लगायतको ६ सदस्य टोलिले सुनसरीको कोशी गाउँपालिकाको स्थलगत भ्रमणको क्रममा ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा