मधेश बलिदानी दिवश
सुनसरी सदरमुकाम इनरुवामा मधेस आन्दोलनका प्रथम शहिद हुनुभएका रमेश महातोको सम्झना एवम् बलिदानीको सम्झनामा विहीबार बलिदानी दिवस मनाएको छ ।
वि.स. २०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादव लगायतका नेताहरुले माग १ गते जारी भएको अन्तरिम संविधानको प्रतिलिपि जलाएको र प्रहरीले उहाँ सहितलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो । सोही आन्दोलतको चौथो दिन आजैको दिन अर्थात माघ ५ गते २०६३ मा प्रहरीको गोली लागी हत्या भएको रमेश महतोको सम्झनामा विहीबार बलिदानी दिवस मनाएको छ ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद हुनुभएको र त्यसपछि तराईमधेशभर आन्दोलन चर्किएको थियो । सोही सम्झनामा बलिदानी दिवश आयोजक समिति सुनसरीको आयोजनामा मधेस आन्दोलन र वर्तमान अवस्था विषयक विचार गोष्टी कार्यक्रम सम्पन्न गरेको हो । विचार गोष्टी कार्यक्रम समितिका संयोजक दिलिपचन्द साहुको अध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा सहित पीता शिवनारायण मेहता, शहिद माता एवम् विदिलाल मेहताकी पत्नी, घाईते रामी मेहता र जगरनाथ मण्डल सहित पाँच जनालाई सम्मान गरेको थियो । कार्यक्रममा मधेस आन्दोलनका सुनसरी अगुवाहरुको उपस्थिती रहेकोमा वीरेन्द्र यादव, धर्मबिर आर्य, रामप्रसाद मेहता, विरेन्द्र यादव, एसएन मेहता, रामनारायण यादव, सरोज मिश्रा, देवकृष्ण यादव र सन्तोश मेहता लगायतकाले बलिदानी दिवसको अवसरमा शहिदलाई सम्झीनुका साथै योगदानको चर्चा गर्नुभएको थियो ।
प्रदेश सरकारले विदा दिएकोमा मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाएका छन् । सोही क्रममा मधेस प्रदेशमा आज १६ औँ बलिदानी दिवसको विदा दिएको छ । १६ वर्ष अगाडी अर्थात् आजकै दिन (०६३ माघ ५ मा) पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा महतो सहिद भएका थिए ।
कार्यक्रममा रामप्रदान मेहताले मधेश आन्दोलनका पहिलो सहिद महतोको सम्झनामा हरेक वर्ष मधेश केन्द्रित बुद्धिजिविहरु, नागरिक समाज र दलहरूले बलिदानी दिवस मनाउदै आएको बताउनुभयो ।
इनरुवा स्थित उद्योग वार्णिज्य संघमा विचार गोष्टी र मधेस लोकतान्त्रिक चौकमा मधेसी सहितहरू प्रति माल्यार्पण गर्दै मैनवती प्रज्वलन गरेको छ ।


कसरी मारिए रमेश महतो ?

दोस्रो जनआन्दोलनको सफलतापछि ०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो । उक्त संविधानप्रति तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विमति जनाए । यादवको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा माघ ३ मा अन्तरिम संविधान जलाइयो ।
त्यति बेला यादवसहितका केहि नेता पक्राउ परेका थिए । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाउने तयारी भइरहँदा मधेसका जिल्लाहरूमा आन्दोलन सुरु भयो । ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारियो ।
लहानमा कृष्णबहादुर यादव (निधन भइसकेका)को नेतृत्वमा राजमार्ग केन्द्रित आन्दोलन सुरु भएको थियो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीका जनमुक्ति सेनाहरू चढेको केहि गाडी पूर्वबाट पश्चिततर्फ गइरहेको थियो । उक्त गाडीलाई आन्दोलनकारीले रोक्यो, अगाडी बढ्न दिएनन् । अनि अवस्था तनावग्रस्त बन्यो ।
सो आन्दोलनमा लहानकै लिटिल स्टार बोर्डिङ स्कूलको कक्षा ९ मा अध्ययनरत रमेश महतो पनि सहभागी थिए । जनमुक्ति सेनाहरूले आन्दोलनलाई बेवास्ता गर्दै अगाडी बढ्न खोज्दा ढुङ्गामुडा भयो । सो क्रममा एक जनमुक्ति सेनाले भीडमै गोली चलायो र रमेश महतो मारिए ।
गोली लागेर महतो मारिएपछि माओवादी नेताहरूले उनको शव नै बेपत्ता पारेको थियो । शव बेपत्ता पार्न मातृका प्रसाद यादव नेतृत्व गरेका थिए । त्यति बेला मधेशमा उनको व्यापक विरोध भयो । एक त गोली हानेर हत्या ग¥यो र शव पनि बेपत्ता पारेको खबरले मधेसभर आगो झैँ फैलियो आन्दोलन ।
आन्दोलनकारीले लहानमै सयौँ सवारी साधन र सरकारी कार्यालयहरूमा आगजनी गरे । सरकारी कार्यालयहरूमा त्यति बेला नै मधेश सरकार लेखियो । उक्त आन्दोलन १९ दिनसम्म चल्यो । सो आन्दोलनमा महतोसहित ६४ जना सहिद भए । त्यसपछि पनि भएको पटक पटकको मधेश आन्दोलनमा १७ जना सहिद भएको सरकारी तथ्यांक छ ।
पहिलो मधेश आन्दोलन १९ दिनसम्म चलेपछि मधेसी मोर्चा र तत्कालीन सरकारबीच आठ बुँदे सम्झौता भयो । उक्त सम्झौतापछि मुलुक संघीयतामा गएको हो । मुलुकमा संघीयता र समावेशिता मधेस आन्दोलनकै देन हो– मधेसी नेताहरू बताउँछन् ।
पहिलोपटक मुलुकको मूल कानुनमा संघीयता भन्ने शब्द मात्रै थपिएन, मधेसीको पहिचानसमेत कायम भयो, सरकारी दस्ताबेजहरूमा मधेसी शब्दले स्थान पायो । रमेश महतोको सहादत प्राप्त गरेको दिन माघ ५ बाट सुरु भएको आन्दोलनले मधेसीको पहिचान र मुलुकलाई संघीयतामा लगेको भन्दै यो दिनलाई ‘बलिदानी दिवस’का रूपमा मनाउँदै आएको छ ।
सहिदको सपना अधुरै
मधेस आन्दोलनको बलमा संस्थाका रूपमा रहेको मधेसी जनअधिकार फोरम एउटा पार्टीको रूप लियो । अध्यक्ष उपेन्द्र यादव मधेसका मसिहा कहलिए । ०६४ को संविधानसभामा पहिलो पटक सहभागिता भएको उक्त पार्टीबाट ५४ जना सांसद निर्वाचित भए ।
मधेश आन्दोलनकै बेलामा धेरै नेताले सत्ताको स्वाद चाहे । अहिलेसम्म मधेश आन्दोलनलाई भजाउने काम भइरहेको छ । तर सहिद र मधेसी जनतालाई देखाएको सपना अझै पुरा हुन सकेको छैन । त्यस बेला उठाइएको अधिकांश मुद्दा ओझेलमा परेका छन् ।
सत्ताकै खेलमा लागेका कारण उपेन्द्र यादव नेतृत्वको पार्टी पटक पटक विभाजन भयो । जसका कारण मधेश आन्दोलन कमजोर भएको छ । आत्म निर्णयको अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, नागरिकता लगायतको मुद्दाहरू ओझेलमा परेको छ । मधेसको मुद्दाहरू पुरा हुन नसक्नुमा नेताहरू नै दोषी रहेको वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताको आरोप छ ।
उनी भन्छन्, ‘मधेसी जनता अझै अनेकौँ बेथितिको सिकार छन् । यतिसम्म कि सहिद परिवारसँगै पनि विभेद भएको छ । ५० लाखको लोभ देखाएर आन्दोलन गर्न लगायो । तर अहिले रोजगारी समेत दिन सकिएको छैन ।’ सत्ता स्वार्थकै कारण मधेसी नेताहरूलाई चुनावमा हराएर जनताले सबक सिकाएको उनको भनाई छ ।
मधेश केन्द्रित दलहरू एकजुट भएर अगाडी नबढे सहिदका सपनाहरू पुरा नहुने पत्रकार गुप्ताको तर्क छ । उनी भन्छन्, ‘देशमा गणतन्त्र र संघीयता त आयो । तर त्यसको अनुभूति मधेसी जनताले गर्न सकेका छैन । यसका लागि मधेश केन्द्रित दलहरू पुनः एकजुट हुन जरुरी छ ।’