जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १५ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी कर्मचारीहरुलाई प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी अनुशिक्षण तालिम दिएको छ । पहिलो पटक नेपाल रेडक्रस सोसाईटी सुनसरीको समन्वय, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो ।

एक दिने तालिममा विभिनन दुर्घटना र घटनाहरुमा घाईतेहरुलाई कसरी सुरक्षीत राख्ने र प्राथमिक उपचार गर्ने अनि अस्पतालसम्म कसरी लाने लगायतका विषयमा तालिम दिइएको प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रहरी नायव उपरीक्षक राजकुमार राईले यस प्रकारको तालिमले प्रहरी कर्मचारी, अधिकृतदेखी जवानसम्मलाई आधारभूत ज्ञान प्राप्त हुने र कार्यस्थलमा समेत सहयोग पुग्ने बताउनुभयो । राईले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी ज्ञान हुनुपर्ने उल्लेख गर्नुभयो ।


तालिमलाई प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल सहित नेपाल रेडक्रस सोसाईटीका सुनसरी सभापती उमेश थापा,बासुदेव घिमिरे, सदस्य विष्णु मण्डल सहितले सहजिकरण गर्दै प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी प्रशिक्षण दिंदै प्रयोगात्मक अभ्यास समेत गराउनुभएको थियो । तालिममा यस जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत रहेका २४ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् ।

तालिमको उद्घाटन सत्रमा प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले प्रहरी शान्तीसुरक्षासगैं समाजसेवा र अन्य सबै क्षेत्रमा जानकार हुनुपर्ने भएकाले यसप्रकारको तालिमले क्षमता विकाससगैं कार्यस्थलमा आफै र आफ्नै सहकर्मी सहित घटनास्थलमा पुग्ने प्रहरीले नागरिकको ज्यान जोगाउनेदेखी तत्काल चाहिने प्राथमिक उपचारका लागि सहयोगी भुमिका निर्वाह गर्ने विश्वाश व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सुनसरी सभापती उमेश थापाले तीन झोला प्राथमिक उपचार सामग्री प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा रेडक्रस सुनसरीका सभापति उमेश थापाले प्रहरी उपरिक्षकलाइ प्राथमिक उपचारको सामाग्रीहरु समेत हस्तान्तरण गर्नु भएको थियो।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल