इनरुवा, असोज ४ गते । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरीका उराँव समुदायले जमरा राखेर आफ्नो महान चाड करम पूजाको सुरु गरेका छन् । प्रत्येक वर्षको भाद्र पूर्णिमाबाट सुरु हुने करम पूजाको लागि विहीबार जमरा राखेर सुभारम्भ गरिएको हो ।
नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राख्ने कार्य विहीबार सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । जमरा राखेर भाद्र पूर्णिमाका दिन साँझ विधी पुर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने वीधि सहितको कार्यक्रम गर्ने भएको छ ।


प्रतिष्ठानले नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातिको करम पूजा प्रारम्भ हुन्छ । भाद्र पूर्णिमामा विधि पूर्वक मनाइने यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
उराँवका अनुसार पूजामा उराँव समुदायले करम र करमको हागाँ वा वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले पूजाका लागि एक हप्ता अघि देखि नै जमरा राख्ने संस्कार र प्ररम्परा अनुसार जमरा राखेका छन् ।
दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताउनुभयो ।
एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने गरिन्छ । युवा युवतीहरु जमरा राखे जस्तै करम पूजामा ब्रत बस्ने गर्दछन् । यो वर्ष भदौ–४ गतेबाट करम पूजा सुरु भएको जनाइएको छ । पूजामा उराव समुदायले राम्रो लगाउने मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ । करम पूजामा उराँव समुदायले भरपुर मनोरन्जन र रमाइलो गर्ने गर्दछन् । दशैं, तिहार , होली तथा नयाँ वर्ष उराँव समुदायले मनाउने गरे पनि करम पूजाको भने आफनै विशेषता र महत्व रहेको स्थानीय दुर्गा उराँवको भनाई छ । पूजामा सबै रिसराग तथा दुःख बिर्सेर सामूहिक रुपमा यो पर्व मनाउँछन् । पहिलो, दोश्रो र तेश्रो पकाएको रोटी करम देउतालाई चढाउने र आफन्त इष्टमित्र कहाँ गएर शुभकामना आदान प्रदान गर्ने तथा नाचगान गर्ने पनि चलन रहेको उराँवले बताउनुभयो । भाकल पूरा हुने भएकाले यो पूजाको महत्व बढ्दै गएको उहाँको भनाई छ ।
यो पूजामा बलिदिने चलन भने छैन हजारौ वर्ष देखि नेपालमा बसोबास गर्दै आएको यी जातीहरु खोला किनार तथा खेत खलियानमा बस्न रुचाउछन । नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
उराँवहरुको करम पुजा सुरु भएको दिनको अवसरमा प्रतिष्ठानको परिषरमा वृक्षा रोपण समेत गरिएको छ । वृक्षा रोपण कार्यक्रममा इनरुवा नगरपालिका उपप्रमुख विनिता कुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल , २ का पूर्व वडा अध्यक्ष सुरेन्द्र यादव, वडा सदस्यहरु, पूर्व माटो विज्ञ नुनुलाल उराँव सहितको उपस्थिती रहेको थियो ।
उराँव समुदायका राजकुमार उराँवका अनुसार बडा दसैंको पहिलो दिन जसरी घरघरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिने र जमरा राखिने गरेको छ त्यसरी नै उराँवहरुले भदौ पूर्णिमा जमरा राखिने गरेएको छ ।

१, नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राख्ने कार्य गर्दै प्रतिष्ठानका अध्यक्ष बेचन उराँव ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा