अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालिन मेयर बलदेव चौधरीलाई भ्रष्टचार गरेको मुद्धा लगाएको छ ।

चौधारीलाई अख्तियारले नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा  ८१ लाख ३५ हजार ३८२ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार रहेका छन् ।

आर्थिक वर्ष २०७८र७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन्, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख चौधरीले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजस्व चुहावट गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख चौधरीसँग चुहावट गरेको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

यस्तै, त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसँग पनि चुहावट भएको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ । निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार बछारसँग चुहावट भएको राजस्वको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल गर्न अख्तियारले मागदाबी गरेको छ ।