सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा ४४१ जना सुकुम्बासीलाई निस्सा वितरण गरिएको छ । बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीको समन्वयमा कोशी गाउँपालिकाले कोशी ७ हरिपुरमा ४४१ जना सुकुम्बासीलाई निस्सा वितरण गरेको हो ।

भुमि आयोगका जिल्ला अध्यक्ष भगिरथ खत्वेका अनुसार कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरका दलित तथा सुकुम्बासी बस्ती ४४१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ । उनीहरूलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव, कोशी ७ का वडा अध्यक्ष लालदेव सदा,पूर्व वडा अध्यक्ष रामचन्द्र महतो लगायतले निस्सा वितरण गर्नुभयो । कोशी ७ हरिपुरका सुकुम्बासीहरुले निस्सा पाएपछि खुसी व्यक्त गरेका छन् । यसअघि कोशी गाउँपालिकाले कोशी १ लौकहीमा सुकुम्बासीलाई निस्सा वितरण गरेको थियो ।