युवाले ध्यान नदिंदा हराउन थाले पुर्खाका सीप
९५ बर्षीय अमर सहकारीसँग पूर्खाको सीप सिक्दै नेपाली काँग्रेस कालीकोटका उपसभापति मीनवहादुर वोगटी । तस्विर : रमेशकुमार बाेगटी
फन्ट परिवर्तन गर्नुहोस:
रमेशकुमार बोगटी
कालीकोट, कात्तिक २७ गते । पछिल्लो समय कालीकोटमा पुर्खाको सीप हराउन थालेको छ । अघिल्लो पुस्ताको सीपलाई अहिलेका पुस्ताले नसिक्दा पुर्खाका सीप बिस्तारै हराउँदै जान थालेको हो ।
बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारणले युवामा सीप सिक्ने उत्साह घट्दै गएको छ । ग्रामीण भेगमा निगालोको प्रयोग गरी घरायसी प्रयोजनका लागि बनाइने नाङ्ला, डोका, डाला, छाप्री सुपा, भकारी र बिस्कुन सुकाउने मोट्टा लगायतका सामग्री लोप हुँदैगएका छन् ।
बजारमा पाइने प्लास्टिका सामग्रीको बढ्दो प्रयोगले निगालो प्रयोग गरी बुनिएका सामग्रीहरु लोप भएका हुन् । गाउँघरमा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री बिस्तारै हराउँदैगएका छन् ।
नरहरीनाथ गाउँपालिका –५ का किसान मनवहादुर सहकारीले निगालोको प्रयोग गरी बुनिने सामग्रीमध्ये जिल्लाको नरहरिनाथ गाउँपालीका वडा ४ र ५ को रुप्सा, सान्नित्रिवेणी गाउँपालिकाको वडा ८ र ९ को मुम्रा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पेसा आफुले अँगालेको ५० वर्ष भयो, आफूले बुनेको निगालोका सामग्रीबाट पहिले मनग्य आम्दानी हुन्थ्यो । पछिल्लो समय प्लास्टिकबाट निर्मित सामग्रीको बढ्दो प्रयोगले चोयाबाट निर्मित सामग्रीको प्रयोग हराउँदै गएको छ ।”
गाउँघरमा मोटर बाटो पुगेपछि प्लास्टिकका सामग्रीको वढ्दो प्रयोगले पुर्खाको पेसा हराउँदैगएको सान्नित्रिवेणी गाउँपालिका –९ का स्थानीय तपेन्द्र केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले यो पेशालाई संरक्षण गर्न सकेन भने आउने पुस्ताले नाम मात्र सुन्न पाउनेछन् ।” अर्गानिक पेसालाई बचाइराख्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने स्थानीयको बुझाइ छ ।
निगालोको चोयाबाट बनेको प्रतिडोकोलाई ३ सयदेखि ५ सय रूपियाँसम्म र बिस्कुन सुकाउने प्रतिमोट्टालाई ३ हजारदेखि ४ हजार रूपियाँसम्म बिक्री हुनेगरेको छ । घरमै बसी मनग्य आम्दानी हुने आफ्नो पुर्खाको पेसालाई युवाहरुले चासो नदिंदा यो पेसा सङ्कटमा पर्दै गएको छ ।