जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ४ गते । हर्सोल्लासका साथ सुनसरीको विभिन्न स्थानीय तहका स्थानीयहरुले छठ पर्व सम्पन्न गरेका छन् । सुनसरी सदरमुकाम इनरुवासहितको विभिन्न स्थानमा लोकआस्थाको महापर्व छठ सोमबार उदाउदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिँदै सम्पन्न गरेका हुन । इनरुवा नगरपालिकाको डुम्राहा, चान्दबेला, मधेसा, बबिया, जल्पापुर सहित हरिनगर, देवानगञ्ज, वर्जु, गढी, कोशी भोक्राहा नरर्सिह गाउँपालिकाको सुनसरी खोला, सप्तकोशी नदी, शिशुवा नहर, शंकरपुर शाखा नरह, सितागञ्ज शाखा नहर, बुढी नदी, गडन खोला, दुहवीको बुढी खोला, लौकही,भाण्टाबारी, हरिपुर, श्रीपुर, पश्चिम कुशाहा सहितका स्थानमा लाखौ भक्तजनहरुले छठको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व हर्सोल्लासका साथ सम्पन्न गरेका हुन् ।


सूर्यलाई अर्घ दिदै प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले यहाँ बसोबास गरेका विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव, भाईचारा स्थापना गर्न सहयोग पुगेको स्थानीय शास्त्री कुन्जिलाल मेहताले बताउनुभयो । सामुहिक रुपमा पूजापाठ र ब्रत गर्ने भएकाले सबैको भावनाको सम्मान हुने तथा गरिबधनीको बीचको भेदभाव र जातीय भेदभाव छुवाछुत समेत नहुने भएकाले उल्लासको पर्वको रुपमा समेत छठ समपन्न गरेका छन् ।


मेहताका अनुसार छठ पर्व गर्नाले पारिवारिक सुख, शान्ती, सन्तान प्राप्ती र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ । जल, जमिन, हावा, पानी बैज्ञानिक मान्यता तथा उत्पादनसंग जोडिएको छठ पर्वले आपसी सदभाव कायम राख्ने, आर्थिक कारोबार र समृद्धिमा ठूलो भुमिका खेलेको विश्वास गरिन्छ ।


१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा उदाउदो सूर्यर्ला अर्घ दिदै बर्तालु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा